समाचारशनिबार, आश्विन २६, २०७०
दशैं– आज महाअष्टमी
आज महाष्टमीका दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।
काठमाडौं उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरहरूमा बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहानदेखि घुइँचो लागेको छ ।
यसैगरी, राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरहरूमा शक्तिरूपा भगवतीको पूजाअर्चना गरिंदैछ ।
आज दशैंघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।
पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिराँैला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।
हनुमानढोकाको दशैंघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।
रासस

