समाचारआइतबार, आश्विन २७, २०७०
दशैं–आज महानवमी
महानवमीका दिन काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका शक्तिपीठहरूमा बलि चढाउने भक्तजनहरूको बिहानदेखि घुइँचो लागेको छ ।
यसैगरी काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, बाराको गढीमाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डँडेल्धुराको उग्रतारा लगायतका शक्तिपीठमा शक्तिस्वरूपा भगवतीको पूजाअर्चना साथै बली दिनेको भीड छ ।
आज दसैंघर र कोतलगायत मुलुकका विभिन्न देवीका मन्दिरहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र सप्तशती पाठ गरिन्छ ।
शाकाहारीहरूले कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ ।
अधिकांश ठाउँमा महाष्टमीको दिन दशैंघरमा बलि दिने र महानवमीको दिन मार हान्ने प्रचलन छ ।
पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबिज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेँडा र राँगाको पञ्चबलि पनि चढाइन्छ । यस पर्वमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ ।
महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने प्रचलन छ ।
हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आजका दिन मात्र खोलिन्छ ।

