समाचारमंगलबार, आश्विन २९, २०७०
त्रिशुलीमा बस खस्यो, दुईको मृत्यु ११ बेपत्ता
इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २५९८ नम्बरको माइक्रोबस २८ असोज साँझ ५:३० बजे त्रिशूली नदीमा खस्दा ललितपुर घर भएकी २२ वर्षीया निता पौडेल र ३२ वर्षीया अस्ट्रेलियन महिला पर्यटकको मृत्यु भएको छ ।
२९ असोज विहानसम्म घाइते ९ जनालाई जीवितै उद्धार गरिएको छ । प्रहरी र स्थानीयवासीले बस र बसमा सवार व्यक्तिहरूको खोजी गरिरहेका छन् । बसमा करिब २२ जना यात्रु रहेको उद्धार गरिएका घाइतेलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नदीमा पसेको माइक्रोबससमेत फेला पार्न नसकिएकाले केही यात्रु अझै गाडीभित्रै हुनसक्ने आशङ्का गरिएको छ । डुङ्गाको सहायतामा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी कार्य जारी राखेका छन् ।
एक जना घाइते बेहोस अवस्थामा रहेको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा अझै मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । दुई जनाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
पानी परेका बेला तीव्रगतिका कारण सो दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ ।
