थप समाचारमंगलबार, आश्विन २९, २०७०
आधादर्जन पुल कुनै पनि बेला ढल्नसक्ने खतरा
महोत्तरी जिल्लामा पर्ने राजमार्गका रातु, भब्सी, गणन्ता, मरहा, ढोलनखोला र बाँकेलगायतका नदीमाथि बनेका पुलमुनिबाट बालुवा ढुङ्गा खन्ने क्रम तीव्ररुपमा बढेपछि ती नदीमाथिका पुल कुनै पनि बेला ढल्न सक्ने खतरा बढेको विज्ञहरूले बताएका छन् ।
पछिल्लो समयमा पुलमुनिबाटै बालुवा ढुङ्गा खन्ने क्रम बढ्दा पुल कमजोर भएकाले अब यसको आयुबारे यकिन गर्न सकिने अवस्था नरहेको स्थानीय इञ्जिनियर अवधकिशोर चौधरीले बताए ।
रातुपुलमुनि त ठूलो क्रसर उद्योगसमेत सञ्चालन गरेर उद्योग सञ्चालकले कानुनी प्रक्रियाको धज्जी उडाएको बर्दिवासका बासिन्दाको गुनासो छ । प्रचलित कानूनी व्यवस्थाअनुसार पुलको एक किमि तल र माथिको दुरीमा नदीबाट बालुवा ढुङ्गा खोस्रन, निकाल्न र उठाएर अन्यत्र लान प्रतिबन्ध रहे पनि स्थानीय प्रशासन र स्थानीय निकाय भने यसबारे बेखबर देखिएका नेपाल बार एसोसिएसन महोत्तरी एकाइका अध्यक्ष रामशङ्कर साहले बताए ।
झन्डै साढे चार दशकअघि तत्कालीन सोभियत सङ्घको सहयोगमा निर्मित पुलहरू क्रसर उद्योगी र ठेकदार कम्पनीको अर्घेल्याइँका कारण जग हल्लिएर जुनसुकै बेला ढल्ने स्थितिमा पुगेको विज्ञ प्राविधिकको भनाइ छ ।
क्रसर उद्योगी र ठेकदार कम्पनीले जिविस र स्थानीय प्रहरी प्रशासनलाई प्रभावमा लिएर नै हाक्काहाक्की बल मिच्याइँ गरेका स्थानीयको आरोपल छ ।
मुलुककै मुख्य राजमार्ग क्षेत्रका पुलको सुरक्षाबारे जिल्लास्थित निकाय उदासीन रहेकाले सम्बन्धित उपल्लो सरकारी निकायले पहल बढाउन आवश्यक देखिएको अनकार–९ का रामअवोध रायले बताए ।
रासस
