समाचारमंगलबार, आश्विन २९, २०७०
दशैंको चहलपहल एकादशीमा बढ्यो
तीन दिनदेखि लगातारको झरीले मर्कामा परेका सर्वसाधारण पानी पर्न रोकिएपछि सडकमा दशमीको दिनभन्दा बढी देखिएका छन् । भारतको उडिसा राज्यबाट शुरु भएको आँधीको प्रभावका कारण नेपालमा पनि वर्षा भएपछि कतिपय कच्चि सडकमा सवारी साधन चल्न सकेका छैनन् ।
दशैंको भोली पल्ट २९ असोजमा झरी पर्ने क्रम रोकिएपछि काठमाडौंको शहरी क्षेत्रमा टीका थाप्न जाने सर्वसाधारणको भीड बढेको छ । काठमाडौंका विभिन्न क्षेत्रमा निधारमा रातो टीका र जमरा लगाएका महिला,पुरुष र बालबालिकाको चहलपहल दशैंको दिनभन्दा बढी छ ।
नेवार समुदायमा मान्यजनबाट विजयादशमीको टीका थाप्न छोरीज्वाइँसहित नातिनातिनालाई भोज बोलाउने चलन छ जसलाई नेपाल भाषामा नखत्या भनिन्छ । यस्तो भोज पूर्णिमाको दिनसम्म बोलाउन सकिने प्रचलन छ । असन क्षेत्रका नेवार समुदायले आज अर्थात् एकादशीको दिन देवीको टीका थाप्ने परम्परा छ जसलाई नेपाल भाषामा असं चालं भनिन्छ ।
भारतमा आएको आँधीबेहरीको प्रभावका कारण तीन दिनदेखिको अविरल वर्षामा केही सुधार देखिए पनि कालो बादलसहितको फाटफुट वर्षा भने जारी छ ।

