समाचारबुधबार, आश्विन ३०, २०७०
मौसम सुधारोन्मुखः उपत्यकामा चहलपहल बढ्यो
बङ्गालको खाडीमा आएको ‘फाइलिन’ आँधीबेहरीको प्रभावका कारण २७ देखि ३० असोजसम्म लगातार झरी परेपछि दशैंमा कठिनाइ बेहोरेका सर्वसाधारणलाई मौसममा सुधार भएपछि राहत महसुस भएको छ ।
तीन दिनसम्म निरन्तर झरी परेपछि देशका पूर्वी, मध्य, पश्चिम र मध्यपश्चिम भेगको जनजीवन प्रभावित भएको थियो । झरीका कारण मान्यजन र आफन्तकहाँ टीका, जमरा र आर्शिवाद थाप्न गन्तव्यसम्म पुग्नका लागि सर्वसाधारणलाई निकै समस्या परेको थियो ।
वर्षाको प्रभाव पूर्वी भेगमा बढी परेपनि उपत्यकामा पनि पर्याप्त सवारी आवागमन नहुँदा यात्रुले सास्ती बेहोर्नु परेको थियो ।
आजबाट पूर्वीबाहेकका क्षेत्रमा मौसम सफा रहने वरिष्ठ मौसमविद राजेन्द्रप्रसाद श्रेष्ठले बताएका छन् । “पूर्वी र मध्य भागमा आंशिक बदली हुन्छ, तर पानी पर्दैन, पूर्वी भेगमा बढी बादल लाग्नेछ, पश्चिम र मध्यपश्चिम भेगमा भने मौसम सफा छ,” श्रेष्ठले भने ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १८ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।
रासस
