समाचारबिहीबार, आश्विन ३१, २०७०
निर्वाचन बिथोल्न खोज्नेलाई नछाड्ने गृहमन्त्रीको चेतावनी
३१ असोजमा विराटनगरमा आयोजित पूर्वाञ्चल सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचनमा अवरोध सिर्जना गर्ने एवम्ं निर्वाचन बिथोल्न खोज्नेलाई सरकारले कुनै हालतमा नछाड्ने चेतावनी दिएका छन् । मन्त्री घिमिरेले भने, “निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न सरकार जुनसुकै चुनौतीको सामना गर्न दृढ छ, निर्वाचनका लागि सरकारले सुरक्षाको भरपर्दो आधार तयार पारिसकेको छ ।”
मन्त्री घिमिरेले मतदातालाई मतदान केन्द्रसम्म पुगेर आफ्नो मताधिकार प्रयोग गरी सुरक्षित रूपले घरसम्म आउने वातावरण बनाउन सरकारले मतदानकेन्द्रित सुरक्षा योजना बनाइसकेको पनि बताए ।
उनले नेपाली जनता एवम् राजनीतिक दल निर्वाचनको पक्षमा भएको बताउँदै निर्वाचनमा सहभागी नहुने असन्तुष्ट दललाई निर्वाचनमा असर पुग्ने कुनै पनि कार्य नगर्न आग्रह गरे । उनले भने, “ मतदान गर्ने जनताको अधिकार कुण्ठित गर्ने कार्य कसैले गरेमा त्यो सह्य हुँदैन ।”
उक्त अवसरमा निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जस्तोसुकै बाधाव्यवधान आए पनि आयोग त्यसकोे सामना गरी आगामी संविधानसभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न तयार रहेको दाबी गरे ।
एकदिने गोष्ठीमा पूर्वाञ्चलका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका बलाधिकृतरथी, नेपाली सेनाका स्थानीय प्रमुखलगायत सुरक्षा अधिकृतको सहभागिता थियो ।

