समाचारबिहीबार, आश्विन ३१, २०७०

संघीयता र शासकीय स्वरूप दलहरुको प्राथमिकतामा

हिमालखबर

आगामी ४ मंसीरमा हुने निर्वाचनको प्रचार अभियानमा उत्रेका दलहरूले आफ्ना चुनावी घोषणापत्रमा प्रदेशको सङ्ख्या, नामाङ्कन तथा सीमाङ्कन र शासकीय स्वरूप बारे प्राथमिकताका साथ उल्लेख गर्दैछन् । संघीयताको स्वरूपका विषयमा नेपाली काँग्रेस र नेकपा एमाले विगतमा झैं नजिक देखिएका छन् भने एमाओवादीले अघिल्लो संविधानसभामा त्यसबारे आफूले व्यक्त गरेको धारणालाई नै घोषणापत्रलाई समावेश गर्दैछ ।

दलहरूले पछिल्लो जनआन्दोलनको भावनाअनुसार अग्रगामी परिवर्तन, दिगो शान्ति, स्थिर सरकार, चाँडो स्थानीय निर्वाचन, राष्ट्रियता र आर्थिकसामाजिक विकासलाई पनि प्राथमिकता दिने गरी घोषणापत्र ल्याउँदैछन् । एमाओवादीले २ कात्तिकमा सार्वजनिक गर्न लागेको आफ्नो घोषणापत्रमा प्रदेशको सङ्ख्या १० देखि १४ सम्म हुने र नामाङ्कन गर्दा पहिचान र अधिकारको विषय उठाउँदैछ ।

कांग्रेस र एमालेले भने सङ्घीयताको नामाङ्कन साझा वा बहुपहिचानसहितको हुनुपर्ने र विवाद समाधान नभए नामका लागि प्रदेशसभाले टुङ्गो लगाउने प्रस्ताव अघि सारेका छन् । चाँडै घोषणापत्र सार्वजनिकको तयारीमा रहेका प्रमुख तीन दल शासकीय स्वरूपको सवालमा भने आआफ्नै अडानमा छन् ।

विघटित संविधानसभामा रहेका अधिकांश दलले संघीयता र गणतन्त्रलाई स्वीकार गरी यसको संरक्षणमा अग्रसर हुँदा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संवैधानिक राजतन्त्र र राष्ट्रिय जनमोर्चाले एकात्मक व्यवस्थाको प्रस्ताव गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ असोजमा सार्वजनिक गरेको घोषणापत्रमा पार्टी संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हुनुपर्ने पक्षमा रहेको घोषणा गरेका थिए । राष्ट्रिय जनमोर्चाले आफ्नो घोषणापत्रमा संघीयतामा मुलुक जान नहुने र एकात्मक शासन प्रणाली हुनुपर्ने उल्लेख गरेको सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताए ।

एमाओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्रीय प्रणालीको वकालत गरेको छ भने कांग्रेसले हालको जस्तै संवैधानिक राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्रीय प्रणालीको प्रस्ताव घोषणापत्रमा ल्याउँदैछ । एमालेले भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति हुनुपर्ने मान्यतालाई घोषणापत्रमा समावेश गर्दैछ ।

एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीले समावेशी र मौलिक लोकतन्त्र तथा प्रगतिशील राष्ट्रवादसहितको अल्पकालीन र दीर्घकालीन योजना घोषणापत्रमा समावेश गरिएको जानकारी दिए ।

एमाले नेता भीमबहादुर रावलले पार्टीले दुई तीन दिनभित्र घोषणापत्र बाहिर ल्याउने भन्दै सात प्रदेश हुनुपर्ने र साझा वा बहुपहिचानका आधारमा त्यसको नाम तय हुनुपर्ने, नाममा सहमति नभए प्रदेशले नै त्यो तय गर्नुपर्ने प्रस्ताव राखिने जानकारी दिए । राष्ट्रिय स्वाधीनताको रक्षा र राष्ट्रिय अर्थतन्त्रको विकास तथा प्राकृतिक स्रोतसाधनको अधिकतम विकासका विषयलाई एमालेले प्राथकिता दिने भएको छ ।

कांग्रेसले विघटित संविधानसभामा सहमति भएका संविधान निर्माणका अधिकांश विषयको स्वामित्व लिँदै केन्द्र, प्रदेश र प्रान्त रहेको संघीयता हुनुपर्ने धारणा बाहिर ल्याएको छ ।

कांग्रेस केन्द्रीय सदस्य गगन थापा पार्टीले आफूहरूले संविधानसभामा गएर के गर्ने र संसद् (सरकार) मा गएर के गर्ने भन्ने सवाललाई अलग अलग खण्डमा घोषणापत्र तयार गरिरहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर राणाले तराईमा दुई र पहाडमा पाँच गरी सात प्रदेश हुनुपर्ने पार्टीको धारणा रहेको जानकारी दिए । उनले संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलङ्कारिक राष्ट्रपति रहने व्यवस्थासहितकोे घोषणापत्र पार्टीले तयार पार्न लागको जानकारी दिए ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पार्टीले चाँडै घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिँदै घोषणापत्रमा संसद्बाट निर्वाचित प्रधानमन्त्री तथा प्रदेशसभा र संसद्को निर्वाचनमण्डलबाट निर्वाचित राष्ट्रपतिको अवधारणा पार्टीले ल्याउन लागेको जानकारी दिए । उनले पहाडमा आठ प्रदेश र तराईमा दुई प्रदेश गरी दश प्रदेश बनाउनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए ।
प्रकाश सिलवाल र किरण भट्टराई, रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>