थप समाचारबिहीबार, आश्विन ३१, २०७०
लाखौँको दलहन तथा तेलहन बाली नष्ट
जिल्लाका ७६ गाविस र १ नगरपालिका क्षेत्रभित्रको हजारौं हेक्टर जग्गामा छरिएको लाखौं मूल्य बराबरको दलहन तथा तेलहन बालीलाई लगातार तीन दिनसम्म परेको पानीले नष्ट पारेको किसानहरुले बताएका छन् ।
दशैंको आगमनसँगै आ–आफ्ना खेतबारीमा छरेको मसुरो, आलस, केराउ, मटर, तोरी, रायो, खेसारी, रहरियालगायतका सयौँ क्विन्टल दलहन तथा तेलहनबालीलाई पानीले नष्ट बनाएको जलेश्वर–७ का किसान आश नारायण मण्डलले बताए ।
बाली छर्ने बेलामा परेको बेमौसमी पानीले जिल्लाको प्रत्येक खेतबारीमा एक बित्तादेखि एक हातसम्म पानी जमाएका कारण हजाराँै बिघामा छरिएको दलहन तथा तेलहनका बीउ पानीमा कुहिएर नष्ट भएको रामगोपालपुर–७ का प्रमोद मण्डलले जानकारी दिए ।
पानीका कारण सबै बीउबिजन कुहिएको बताउँदै बनौली–४ का वैद्यनाथ चौधरीले यसवर्ष जिल्लामा दलहन तथा तेलहन बालीको उत्पादनमा निकै कमी आउने तथा कतैकतै त उत्पादन नै नहुने सम्भावना बढेको बताए । तीस हजार हेक्टर जग्गामा प्रत्येक वर्ष दलहन तथा तेलहन बाली लगाइने महोत्तरीमा यसवर्षको भिषण पानीले दलहन तथा तेलहन बालीमा ठूलो ह्रास आउने जिल्ला कृषि कार्यालय महोत्तरीले जनाएको छ ।
रासस
