समाचारशुक्रबार, कार्तिक १, २०७०
दलको निर्णयले मत दिनबाट रोक्दैनः गृहमन्त्री
१ कार्तिकमा जिल्ला प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवन उद्घाटन गर्दै गृहमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट रहेका दलका नेता तथा कार्यकर्ताले संस्थागत रुपमा नभई व्यक्तिगत रुपमा भए पनि सहभागी भएर निर्वाचनलाई सफल पार्न आग्रह गरेका छन् ।
“कुनै एउटा दल वा संस्था विशेषको निर्णयले त्यस संस्थामा आवद्ध नेता, कार्यकर्ताको मत हाल्ने अधिकारलाई रोक्दैन” उनले भने, “चुनावी प्रक्रियामा असहमत दलहरुले आफ्नो निर्णय बदलेर जनता र लोकतन्त्रको पक्षमा उभिन अनुरोध गर्दछु ।”
निर्वाचनबाट नै नागरिक सर्वोच्चता स्थापित हुने भएकोले दोस्रो संविधानसभा निर्वाचनलाई सफल बनाउने दायित्व सबैको भएको घिमिरेले बताए । “चुनावलाई सम्पन्न गर्न सरकार दृढ संकल्पित छ,” उनले भने, “जनताको अधिकारको सुनिश्चितता निर्वाचनमार्फत नै हुन्छ, संसदीय व्यवस्था, बहुदलीय प्रतिष्पर्धा र लोकतन्त्र पक्षधरलाई चुनाव आवश्यक छ ।”
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले ४ मंसीरको संविधानसभा निर्वाचनलाई सफल बनाउन मन, बचन र कर्मले सर्मपित भएर लाग्न प्रहरी अधिृकत र जवानलाई निर्देशन दिएका थिए ।
कास्कीका प्रहरी प्रमुख, एसपी केदार रिजालले पोखराका २१ ठाउँमा जडान गरिएका सिसि क्यामरालाई प्रभावकारी रुपमा प्रयोग गर्न बजेट अभाव भएको बताए । । प्रहरीलाई प्रविधि युक्त बनाउने प्रयासको थालनी गरिएपनि बजेट अभावले प्रभावकारी रुपमा काम गर्न नसकेको उनको भनाई थियो ।
माधव बराल, पोखरा
