थप समाचारशुक्रबार, कार्तिक १, २०७०
विरामीको मृत्युपछि अस्पतालमा तोडफोड
डाक्टरको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै विराटनगर अस्पतालमा तोडफोड गर्ने मृतकका आफन्तलाई प्रहरीले लाठी चार्ज गरी तितरवितर पारेको छ । त्यसक्रममा ८ जना पक्राउ परेका छन् ।
२५ असोजमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी सुनसरी हासपोसाकी देबीमाया कार्कीको उपचारका क्रममा विराटनगर अस्पतालमा १ कात्तिकमा मृत्यु भएको हो । बिरामीको मृत्युपछि मृतकका आफन्तले अस्पतालका सीसा, एम्बुलेन्स र उपचार सामाग्री तोडफोड गरेको विराटनगर अस्पतालका ब्यवस्थापक पुष्पबिक्रम बस्नेतले बताए ।
अस्पतालले मृतक महिलाको भांचिएको हड्डीको बोसो रगतबाट मुटुमा पुगेकाले मृत्यु भएको जनाएको छ भने मृतकका आफन्त राजन कार्कीले डिस्चार्ज लेखिसकेको बिरामीको अचानक पेट फुलेर मृत्यु हुनुमा चिकित्सकको लापर्वाही देखिने बताएका छन् ।
शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पतालमा लगिएको छ ।
