समाचारआइतबार, कार्तिक ३, २०७०

सबै निर्वाचन क्षेत्रमा सेना परिचालन

हिमालखबर

गृहमन्त्रालयले तयार पारेको एकीकृत निर्वाचन सुरक्षा योजना अन्तर्गत ३ कात्तिकदेखि सबै निर्वाचन क्षेत्रमा सेना परिचालित हुने भएको छ ।

सरकारले एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनको सुरक्षाका लागि खटाउने योजना बनाएको छ ।

जस अन्तर्गत नेपाल प्रहरी र म्यादी प्रहरीले मतदान केन्द्रको भित्री सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेरमा सशस्त्र प्रहरीले जिम्मेवारी पाएको छ । सशस्त्रले नेपाल प्रहरी र नेपाली सेनासँग समन्वय गरी सहयोगी भूमिका निर्वाह गर्ने छ ।
निर्वाचन प्रयोजनका लागि नेपाली सेना मुलुकका २४० वटा निर्वाचन क्षेत्रमा आजदेखि परिचालन हुने सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले बताए ।

सुरक्षाका हिसावले अति संवेदनशील, संवेदनशील र सामान्य देखिएका निर्वाचन क्षेत्रमा आवश्यकतानुसार सेनानीको नेतृत्वमा १०० जनाको गुल्म र सहसेनानीको नेतृत्वमा ४० जना जनशक्ति रहेको प्लाटुन परिचालन हुने प्रवक्ता पोखरेलले जानकारी दिए । निर्वाचनमा नेपाली सेनाका ६२ हजार जनशक्ति परिचालन हुनेछन् भने त्यसको ‘चेन अफ कमान्ड’ जङ्गी अड्डामै रहनेछ ।

सुरक्षाका हिसाबले अति महत्वपूर्ण र महत्वपूर्ण रहेका निर्वाचन क्षेत्रमा तीनवटै सुरक्षा निकायको सुरक्षा घेरा रहनेछन् । सामान्य मानिएका निर्वाचन क्षेत्रमा भित्री घेरामा नेपाल प्रहरी र अरू जिम्मेवारी नेपाली सेनाले लिने बताइएको छ ।

सुरक्षित र भयरहित वातावरणमा निर्वाचन कार्यलाई सम्पन्न गर्न मतदानको तीन दिनअघि मतदान केन्द्र नजिक रणनीतिक विन्दु कायम गरी सुरक्षा प्रबन्धसहित सेना परिचालन हुनेछ । सेनाले तीनवटै सुरक्षा निकायसँग समन्वय गरी सूचना आदानप्रदान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिए ।

सैनिक प्रवक्ता पोखरेलका अनुसार सेनाले निर्वाचनका बेला आपतकालीन उद्धार, जगेडा जनशक्ति परिचालन, हेलिकप्टरको व्यवस्थापन, मतपेटिका र मतपत्र ढुवानी, हवाई वेस क्याम्प स्थापनालगायतका काम पनि गर्नेछ ।

त्यसका लागि नेपाली सेनाले जिल्ला, बाहिनी, पृतना र जङ्गी अड्डामा तुरुन्तै क्षेत्रगत तथा जुनसुकै ठाउँमा पनि परिचालन गर्न सक्ने जगेडा जनशक्ति पनि तयारी अवस्थामा राख्नेछ ।

आउँदो मङ्सिर ४ को निर्वाचनमा देशभरका २४० निर्वाचन क्षेत्रमा दस हजार मतदान स्थल र १८ हजारको हाराहारीमा मतदान केन्द्र रहने छन् भने एक करोड २२ लाख मतदाता छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा १२२ राजनीतिक दलले भाग लिएका छन् भने प्रत्यक्षतर्फ १३० राजनीतिक दलका ६ हजार १४७ उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । त्यस्तै स्वदेशी÷विदेशी पर्यवेक्षकसमेत निर्वाचन पर्यवेक्षणका लागि खटिन थालेका छन् ।

नेपाल प्रहरीका ४८ हजार र म्यादी ४५ हजार गरी नेपाल प्रहरी मातहत रहने ९३ हजार जनशक्ति मतदान केन्द्रको भित्री सुरक्षाका अतिरिक्त उम्मेदवार र मतदाताको सुरक्षाका लागि खटिने नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले जानकारी दिए ।

त्यस्तै सशस्त्र प्रहरी बलका प्रवक्ता सिंहबहादुर श्रेष्ठले पनि निर्वाचन प्रयोजनका लागि बलबाट २९ हजारभन्दा बढी जनशक्ति खटिने बताएका छन् ।

सशस्त्र प्रहरी बलका ६० जिल्लामा रहेका सुरक्षा शिविरबाट खटिने जनशक्तिले अन्य सुरक्षा निकायसँग समन्वय गरी सहयोगीको भूमिका निर्वाह गर्ने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>