समाचारसोमबार, कार्तिक ४, २०७०
वाइसीएलद्वारा एमाले कार्यकर्तामाथि आक्रमण
युवासंघ नेपाल मकवानपुर–२ का अध्यक्ष किरणमान बल, जिल्ला सदस्य संग्राम खड्का र एमाले टिष्टुङ गाउँ कमिटी अध्यक्ष राजेन्द्रकुमार लामालगायतलाई ३ कात्तिक राति धादिङको थाक्रे गाविसस्थीत फट्पुरमा दुई वटा बसमा आएका वाइसीएल कार्यकर्ताले बाटो ढुकेर आक्रमण गरेका हुन् ।
घाइतेहरुको हाल मनमोहन मेमोरीयल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । धादिङको भुमेस्थान गाविसमा भएको युवासंघको अधिवेशनमा भाग लिएर फर्कदै गरेका छिमेकी जिल्ला मकवानपुरको टिष्टुङका एमाले कार्यकर्तालाई शालिकराम जमरकट्टेलको संरक्षणमा रहेका वाइसीएल कार्यकर्ता धादिङ तसर्पुका बहादुर, हाप्सेचौरका विकास, महादेववेशीका राजेश र वीर सिंह लगायतले आक्रमण गरेको घाइते बलले बताए ।
छिमेकी जिल्ला भएकाले एकअर्काको कार्यक्रममा आउने जाने प्रचलन अनुसार गएकोमा कार्यक्रम सकेर फर्कंदा मोटरसाइकलमा रहेका अन्य साथीहरु गइसकेपछि पछि रहेका उनीहरुलाई एक्लै पारेर इट्टा तथा खुकुरीले आक्रमण गरेको युवासंघ नेपाल मकवानपुर–२ का अध्यक्ष किरणमान बलले जानकारी दिए ।
“मर्यो भनेर नालीमा फालेछन, पछि स्थानीयले थाहा पाएर उद्दार गरी एम्बुलेन्समा हालेर काठमाडौं ल्याएँ,”बलले भने ।
सुरजकुमार भुजेल, मकवानपुर
