समाचारमंगलबार, कार्तिक ५, २०७०
जड्याँहा बाबुले नाबालिग छोरी बेचे
बाराको डुमरवाना–७ बस्ने सुरेशमली डोमले आफ्नै १३ बर्षीया छोरीलाई १० हजार रुपैयाँमा बेचेका छन् ।
उनले नाबालिग छोरीलाई भारतको बिहार घर भई हाल बाराको हरैया–५ मा आफन्तकहाँ बस्दै आएका रबिन्द्रमली डोम र अजयमली डोमसँग बेचेको बालिकाले बताएकी छन् ।
२१ असोजमा बाबुबाट बेचिएकी बालिका भागेर ३० असोजमा सानो पाइला नामक गैर सरकारी संस्थाको सम्पर्कमा आएको संस्थाका शैलेन्द्र त्रिपाठीले जानकारी दिए ।
आफूमाथि रविन्द्र र अजयले यौनशोषण गर्नुका साथै आधा छाक मात्र खाना दिएर अत्याचार गरेको पीड्ति बालिकाको भनाई छ ।
बालिका भागेर सानो पाइलाको कार्यालयमा पुगेपछि बालिकाको बयानका आधारमा जिल्ला प्रहरी कार्यालयले आरोपीको खोजी र घटनाको थप अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञावालीले भने, “अभियुक्तहरु अहिले फरार छन्, त्यस्तो लज्जास्पद क्रियाकलाप गर्ने र गराउने अभियुक्तहरुलाई चाँडै नियन्त्रणमा लिई कारवाही गरिनेछ ।”
श्याम गुप्ता, बारा
