समाचारबुधबार, कार्तिक ६, २०७०
मानवअधिकार आयोगले निर्वाचन अनुगमन गर्ने
निर्वाचन अघि र निर्वाचनपछि समेत मानवअधिकारको अवस्थाबारे अनुगमन गर्न मानवअधिकार अधिकृतसहितको ४४ वटा टोली यसै हप्तादेखि खटाउने राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
उम्मेदवारको मनोनयनका बेला ३१ जिल्लामा अनुगमन गरेको आयोगले मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था; राजनीतिक लाभ–हानीका लागि बालबालिकाको प्रयोग; राजनीतिक दलद्वारा निर्वाचनको क्रममा हुनसक्ने मानव अधिकार हनन; अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अल्पसंख्यकलगायत सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने वातावरणको सुनिश्चितता; ‘संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७०’ मा उल्लिखित मानव अधिकारसम्बन्धी विषय, समग्र सुरक्षा स्थितिलगायतका विषयमा अनुगमन गर्ने पनि आयोगले जनाएको छ ।
“विगतको सशस्त्र द्वन्द्वको क्रममा द्वन्द्वरत पक्षबाहेक सर्वसाधारण नागरिकको यातना, बलात्कार, हत्या, बलपूर्वक बेपत्तालगायत मानव अधिकार हननका घटनाहरू आयोगमा अभिलेखबद्ध रहेको सन्दर्भमा आसन्न संविधानसभा निर्वाचनको सुरक्षाको क्रममा त्यस किसिमका घटनाहरूको पुनरावृत्ति हुन नदिनेतर्फ सजग रहन आयोग ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८’ को दफा ५ बमोजिम निर्वाचन कार्यमा संलग्न सम्पूर्ण सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीहरूको ध्यानाकर्षण गराउँदछ,” आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
