समाचारबिहीबार, कार्तिक ७, २०७०
सुरक्षा विषयमा राष्ट्रपति–अध्यक्षबीच छलफल
शीतलनिवासमा ७ कात्तिक विहान भएको भेटमा राष्ट्रपति रामवरण यादव र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीबीच ४ मंसीरमा हुने संविधानसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको शीतलनिवास स्रोतले जनाएको छ ।
भेटमा राष्ट्रपति यादवले मुलुकमा शान्तिसुरक्षाको अवस्था र चुनावी सुरक्षा रणनीतिबारेमा अध्यक्ष रेग्मीस“ग जिज्ञासा राखेका थिए । उनले नेकपा–माओवादीलगायत निर्वाचनको विरोधमा रहेका दलहरुको गतिविधिले निर्वाचनमा पार्न सक्ने प्रभाव र सुरक्षाका लागि सरकारी तयारीका बारेमा पनि अध्यक्ष रेग्मीसँग जिज्ञासा राखेका थिए ।
जवाफमा अध्यक्ष रेग्मीले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकार तयार रहेको बताए । उनले चुनावी सुरक्षाका बारेमा चारैवटा सुरक्षा निकाय तयारी अवस्थामा रहेको राष्ट्रपतिलाई अवगत गराए ।
यसैवीच निर्वाचन सुरक्षा रणनीतिका बारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा जारी बैठकमा आसन्न निर्वाचनलाई लक्षित गरेर नेकपा–माओवादीलगायतका दलहरुको गतिविधिलाई नियन्त्रण गर्ने रणनीतिका बारेमा छलफल भइरहेको बुझिएको छ ।
