समाचारबिहीबार, कार्तिक ७, २०७०
कांग्रेसको घोषणापत्र सार्वजनिक
पार्टी केन्द्रीय कार्यालय सानेपामा ७ कात्तिकमा पत्रकार सम्मलेन गरी कांग्रेसले ‘पहिचान र सामथ्र्यसहितको संघीय संविधान, लोकतान्त्रिक गणतन्त्र, कांग्रेसको अभियान’ भन्ने नारा तय गरेको घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा राष्ट्रपति संवैधानिक राष्ट्र प्रमुखको र प्रधानमन्त्री कार्यकारी अधिकार सम्पन्न सरकार प्रमुखको रुपमा रहने गरी संसदीय शासनप्रणाली अबलम्बन गरीने उल्लेख छ ।
त्यस्तै कांग्रेसले ‘पहिचान भेटिने जातीय द्वन्द्व मेटिने’ नारासहितको बहुपहिचानयुक्त सात प्रदेश बनाउने प्रस्ताव गरेको छ । प्रदेशहरुको सिमांकन संविधानसभाले गरे पनि नामांकन भने प्रादेशिक सरकारले गर्ने घोषणापत्रमा उल्लेख छ ।
जल, जमिन र जंगलजस्ता प्राकृतिक स्रोत साधनको प्रयोगमा आदिवासी तथा स्थानीय समुदायको पहिलो अधिकार रहने भए पनि जातीय आधारमा अग्राधिकार नरहने घोषणापत्रमा स्पस्ट पारिएको छ ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई कांग्रेसको तीन स्तम्भ नाम दिइएको घोषणापत्रमा कृषि, पर्यटन, जलस्रोत र उद्योगको विकाशलाई आर्थिक क्रान्तिको आधार बनाउने उल्लेख छ ।
