समाचारशुक्रबार, कार्तिक ८, २०७०
एमाओवादी र एमालेबीच गोरखामा झडप
७ कात्तिक राति ८:३० बजे गोरखाको स्वाँरामा एमाओवादी र एमाले कार्यकर्ताहरु बीच झडप हुँदा दुवै पक्षका गरी १२ जना नेता तथा कार्यकर्ता घाइते भएका छन् ।
नेकपा एमाले गोरखाले आफ्ना कार्यकर्ताहरू चुनाव प्रचारबाट राति फर्कंदै गरेको बेला बाटोमा एमाओवादीका कार्यकर्ताहरुले एक्कासी आक्रमण गरेको बताएको छ । घटनामा एमालेका ताकुकोट गाउँ पार्टी अध्यक्ष भीमबहादुर थापा, उपाध्यक्ष धनप्रसाद गुरुङ, धावा गाविसका अध्यक्षलगायत घाइते भएका छन् ।
घाइते हुनेहरूमा स्थानीय माझथर माविका शिक्षक रामबहादुर चौधरीसमेत छन् । स्वाँरा गाविसको थारचोकमा स्थानीय क्लबले आयोजना गरेको छलफल कार्यक्रममा नेकपा एमालेका कार्यकर्ताहरूले आक्रमण गरेको एमाओवादी गोरखाले दाबी गरेको छ ।
एमाओवादीका महेन्द्र तामाङ, अनु गुरुङ तामाङ, रिना तामाङ र सुजन गुरुङ घाइते भएका छन् । उनीहरूको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।
