समाचारशनिबार, कार्तिक ९, २०७०

उपत्यकामा रगतको अभाव : रगतदान गर्न आह्वान

हिमालखबर

दशैँ, तिहार, ईद, नेपाल सम्वत् तथा छठ पर्वका समयमा बिरामीले खोजेको समयमा ब्लड बैंक (रक्त सञ्चार केन्द्र) मा समेत रगत पाउन कठिन भएको भन्दै ब्लोदानले आफ्ना स्वयम्सेवी रक्तदातालाई रगत दान गर्न आह्वान गरेको हो । ब्लोदानअन्तर्गत करिब चारहजारभन्दा बढी स्वयम्सेवी रक्तदाता आबद्ध रहेका छन् ।

काठमाडाँै उपत्यकाभित्र खासगरी चाडपर्वको समयमा बर्सेनि रगतको अभाव हुने ब्लोदानले जनाएको छ । “यसपटक त अर्काे संविधानसभाको निर्वाचनको दिन नजिकिँदै गर्दा झन् रगतको अभाव देखियो” ब्लोदानद्वारा ९ कात्तिकमा काठमाडौंमा आयोजित कार्यक्रमका सहभागीले बताए ।

अहिले रक्त सङ्कलन कार्यक्रमबाट अति न्यूनरुपमा रगत सङ्कलन भएको हुँदा बैंकले रगत लिन आउने बिरामीका आफन्तलाई बैंकमा रगत नभएमा आफँै रक्तदाता खोज्न भनिरहेको छ । अर्काेतर्फ बिरामीका आफन्त भने रगतको अभाव भएपछि रक्तदाताको खोजीमा भौतारिनु परिरहेको देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केन्द्रलाई रगत सङ्कलन तथा वितरण कार्यको अधिकार दिएको छ ।

दशैं, ईद, तिहार, नेपाल सम्वत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न बैंक परिसर प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा ब्लोनदानका अध्यक्ष महेन्द्रविलाश जोशीले बिरामीलाई चाहिएको अवस्थामा रगत अभाव हुन नदिनका लागि रक्तदान गर्न आफ्ना स्वयम्सेवीलाई आह्वान गरे ।

ती पर्व अगाडि दैनिक रुपमा ८०० युनिटसम्म रगत माग हुने भए पनि बैंकले शुक्रबार जम्मा ३३८ युनिट रगत बिरामीका आफन्तलाई दिएको थियो ।

आजमात्र उपत्यकाभित्र गणेशमानसिंह अध्ययन प्रतिष्ठान, भाटभटेनी व्यवस्थापन समिति, सत्यसाई केन्द्र, ललितपुर युवा समूह, नेपाल रेडक्रस सोसाइटी युवा सर्कल, जागृति मगर विकास समिति, लियो क्लब अफ काठमाडाँै र लिटिलस्टेप नेपाल जस्ता सामाजिक सङ्घसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरिराखेका छन् ।

कार्यक्रममा ब्लोदानको भ्रातृसंस्था फ्रेन्डस् अफ आरएच ग्रुपका अध्यक्ष जीवन बस्नेतले उपत्यकाभित्र पोजेटिभ तथा नेगेटिभ दुवै समूहका रगतको अभाव भएकाले बिरामीका आफन्तले भनेका समयमा रगत उपलब्ध गराउन सहयोग र सक्रियता देखाउन सबैसँग आग्रह गरे ।

यसैबीच ब्लोदानले नेपालका पहिलो रक्तदाता दयावीरसिं कंसाकारको सम्झनामा शालिक निर्माण गर्न अक्षयकोष स्थापना गर्न लागेको छ । संस्थाका सदस्य विष्णु श्रेष्ठले यसका लागि आर्थिक सङ्कलन भैराखेको र हालसम्म २० हजारभन्दा बढी सङ्कलन भएको जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>