समाचारशनिबार, कार्तिक ९, २०७०
मन्त्री भन्छन, ‘निर्वाचन बिथोल्नेहरुविरुद्ध प्रतिरोधमा उत्रिनुस’
नेपाल नेत्रज्योति सङ्घ चितवनको अधिवेशन ९ कात्तिकमा उद्घाटन गर्दै पर्यटनमन्त्री रामकुमार श्रेष्ठले संविधानसभाको निर्वाचन भयरहित र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्नका लागि निर्वाचनका विथोल्न खोज्नेहरु विरुद्ध प्रतिरोध गर्न दलहरुलाई आह्वान गरेका छन् ।
“आज एउटा दलको पर्चा खोस्ने र गाडी तोडफोड गर्नेले भोलि अर्को दलको पनि खोस्न सक्ने हुँदा दलहरु संयुक्त ढङ्गले सरकारसँग मिलेर प्रतिरोधमा उत्रनुपर्छ,” मन्त्री श्रेष्ठले भने ।
सरकारका जिम्मेवार मन्त्रीले सरकारले सुरक्षा दिन्छ, ढुक्क हुनुहोस भन्नु पर्नेमा दलहरुलाई प्रतिरोधमा उत्रनुस भनेकोमा चितवनवासी आश्चर्यमा परेका छन् । “दलहरुलाई प्रतिरोधमा उत्रन मन्त्रीले आह्वान गरेपछि सरकारी सुरक्षा ब्यवस्थाबारे आशंका उत्पन्न भएको छ,” चितवनका विनय श्रेष्ठले भने ।
निर्वाचन कसैले रोकेर नरोकिने बताउँदै मन्त्री श्रेष्ठले यसलाई सफल पार्न आम जनताको सहयोगको समेत सरकारले अपेक्षा गरेको बताए । विध्वंस गर्नेहरुलाई सरकार र सबै दल मिलेर प्रतिरोध गर्दै चुनाव सम्पन्न गर्ने सरकारको दायित्व रहेको मन्त्री श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव श्यामप्रसाद पोखरेलले हीरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अध्ययन संस्थानको साइनबोर्डको अनावरण र खानेपानीको उद्घाटन गरेका थिए ।
