समाचारमंगलबार, कार्तिक १२, २०७०

स्याङ्जामा प्रहरीको गोलीबाट २ को मृत्यु

हिमालखबर

स्थानीय महिलाको मृत्युको बिषयमा प्रहरीले गरेको अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै थप अनुसन्धानका लागि दबाब दिन पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि १२ कात्तिकमा चापाकोट गाविस–३, का २५ वर्षीय कृष्ण भट्टराई र सोही गाविस–६ का २१ वर्षका सूर्य आलेको मृत्यु भएको प्रहरीले बताएको छ ।

पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रवक्ता डिएसपी जगत कार्कीका अनुसार दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्थानीय ३५ वर्षकी माया विकको दुई साताअघि भएको शंकास्पद मृत्युको विषयमा प्रहरीले अनुसन्धानमा ढिलाई गरेको भन्दै स्थानीयवासीले प्रहरी चौकीमा आक्रमण गरेपछि भीड हटाउन प्रहरीले अपरान्ह ४ बजे गोली चलाएको थियो । मृत्यु भएका आलेको रत्नपुर प्रहरी चौकी नजिकै भाँडा पसल रहेको स्थानीयबासीले बताए ।

प्रहरीको गोली लागेर गम्भीर घाईते हुनेमा चापाकोट गाविसका गायत्री आचार्य, गंगाकुमारी श्रेष्ठ, कमला श्रेष्ठ र लिलु विक रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा ल्याइँदै छ ।

झडपमा रत्नपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णबहादुर थापासहित ८ जना सुरक्षाकर्मी पनि घाईते भएको प्रहरीले बताएको छ ।  झडपमा  २४ जना स्थानीयवासी सामान्य घाईते भएका छन् । डिएसपी कार्कीले घटनास्थलमा थप सुरक्षाकर्मी पुगिसेको बताए । चापाकोट गाविस स्याङजा र पाल्पाको सिमानामा पर्दछ ।

विकले आत्महत्या गरेको नभई हत्या भएको हुनसक्ने स्थानीयको दाबी छ ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>