समाचारशुक्रबार, कार्तिक १५, २०७०

बन्दले जनजीवन प्रभावित, जाजरकोटमा अवज्ञा

हिमालखबर

प्यूठानमा एमा‌ओवादी उम्मेदवार नवराज सुवेदीले प्रयोग गरेको गाडी नेकपा–माओवादीका कार्यकर्ताले १४ कात्तिकमा जलाएपछि । तस्वीर: प्रमोद पोखरेल

४ मंसीरको निर्वाचन स्थगित गर्नुपर्ने, वहिष्कार अभियानमा जुटेका वेला पक्राउ परेका कार्यकर्तालाई बिना शर्त रिहा गर्नुपर्ने लगायतका माग राख्दै वन्दको आह्वान गरेको नेकपा–माओवादीले जनाएको छ ।

लुम्बिनीदेखि पश्चिमका जिल्लाहरुमा माओवादीले बन्द आह्वान गरेपछि यसक्षेत्रको जनजीवन प्रभावित भएको छ ।
१५ कात्तिक बिहानैदेखि पाल्पामा यातायातका साधन चलेका छैनन् भने बजार पसल तथा कलकारखानाहरु पनि ठप्प छन् ।

‘मगरात’, ‘अवध’, ‘सेतीमहाकाली’, ‘थरुहट’ लगायतका क्षेत्रहरुमा बन्दको आह्वान गरिएको नेकपा–माओवादीका केन्द्रीय सदस्य बावुराम नेपालीले बताए ।

बन्दले प्यूठानको जनजीवन पनि ठप्प भएको छ ।

नेपालीहरुको दोस्रो ठुलो पर्व तीहारको समयमा बन्दले सर्वसाधारणलाई प्रभाव पर्नेे भन्दै तीहारअघि एक दिन मात्रै बन्द आह्वान गरिएको माओवादीले जनाएको छ ।

बन्दका कारण धवलागिरि अञ्चलका बागलुङ र म्याग्दी जिल्लामा प्रत्यक्ष प्रभाव परेको छ । यहाँ बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् । पसल, व्यापारिक सङ्घसंस्था, शैक्षिक संस्थालगायत सबै क्षेत्रमा बन्दको प्रभाव परेको छ ।

लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । आजदेखि नै तिहार पर्व सुरु भएकाले आवतजावत गर्ने सर्वसाधारणमा बन्दको नराम्रो असर परेको छ ।

सुदूरपश्चिमका जिल्ला पनि बन्द
बन्दका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा पनि यातायात सेवा ठप्प भएको छ ।

प्रचारका लागि प्रयोग गरिएका सवारीसाधन तथा मोटरसाइकलबाहेक सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी अछाम र बाजुरामा यातायात सेवा प्रभावित भएको छ ।

बिहानदेखि यातायात बन्द भएपछि जनजीवन कष्टकर भएको छ । बन्दको प्रभाव पसल, शैक्षिक संस्था तथा कार्यालयहरूमा भने देखिएको छैन ।

जाजरकोटमा अवज्ञा
मध्यपश्चिमको जाजरकोटका व्यापारीहरु र सर्वसाधारणहरुले भने वन्दको अवज्ञा गरेका छन्। स्थानीय व्यापारी र सर्वसाधारणहरुले बन्दको पूर्ण अवज्ञा गरी पसल, यातायात सञ्चाल गरेका छन्।

जाजरकोटका बजारहरु उद्योग पुरै खुलेका छन्। जिल्ला सदरमुकाम लगायत जिल्लाका अन्य ठाउँका बजारहरुमा पनि बन्दको असर परेको छैन।

देव पचभैया, पाल्पा र प्रमोद पोखरेल, प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>