समाचारशनिबार, कार्तिक १६, २०७०
राजन समूहका ‘शुटर’ पक्राउ
हत्या, हत्याको प्रयास तथा चन्दा आतंक फैलाउने आरोपमा प्रहरीले महोत्तरी बथनाहा– ४ घर भएका अजय मुक्ति भनेर चिनिने २९ वर्षीय दिपक कुमार सिंहलाई १६ कात्तिक विहान धनुषाको तुल्सीयाही जब्दी–७ बाट पक्राउ गरेको छ । उनी तराईमा सक्रिय सशस्त्र समूह ‘राजन समूह’ का सक्रिय कार्यकर्ता हुन् ।
धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार सिंहमाथि ३० मंसीर २०६५ मा जनकपुर– ४ निवासी आन्तरिक राजश्व कार्यालयका कर्मचारी कुमार निरौलालाई गोली हानी हत्या गरेको आरोप लागेको छ । त्यसैगरी सिंहले ३ पुस २०६५ मा चितवन जगतपुर निवासी छिन्नामस्ता सशस्त्र प्रहरीको सपही बेस क्याम्पमा कार्यरत प्रहरी हवल्दार मंगल हरिजन हत्याको अरोप समेत लागेको छ ।
सिंहले ३ बैशाख २०७० मा जनकपुर–४ स्थित अशोक सिंहको घरमा बस्ने महोत्तरी ईटहर्वा– ८ का ५५ वर्षीय उपेन्द्र ओझाको ज्यान लिने प्रयास गरेको त्यसैगरी जनकपुर ४ का कृष्णकुमार मिश्रलाई गोली प्रहार गरी घाईते बनाएको लगाएतका आरोपहरु लागेको प्रहरीले जनाएको छ ।
धनुषा बाहेक महोत्तरीमा २०७० सालमा मधेशी जनअधिकार फोरम नेपालका महोत्तरी सचिव ४५ वर्षिय प्रगाश शाहलगायत अन्य स्थानमा तीनजनालाई गोली हानि घाईते बनाएको अभियोग छ ।
पक्राउ परेका सिंहको साथबाट ९ एमएमको पेस्तोल १ थान, २ थान गोली, म्याग्जीन १ थान, मोबाईल २ थान, लागु औषध समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
मनिका झा, जनकपुरधाम

