समाचारआइतबार, कार्तिक १७, २०७०
लोकतान्त्रिकलाई दुई तिहाई: कोइराला
लोकतान्त्रिक संविधान बनाउनका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक पक्षधरलाई दुई तिहाई र नेपाली कांग्रेसलाई बहुमत दिन कांग्रेस सभापति सुशील कोइरालाले आग्रह गरेका छन् ।
नेपालगञ्ज नगरपालिका–१ मा १७ कात्तिकमा आयोजित चुनावी सभामा कोइरालाले संघीय लोकतान्त्रिक संविधान ल्याउन कांग्रेस पछाडी नहट्ने प्रतिवद्धता व्यक्त गरे ।
संविधानसभामा कांग्रेसको नेतृत्वदायी उपस्थिति नहुँदा संविधान बन्न नसकेको भन्दै उनले सबैभन्दा ठूलो दलका रुपमा आएको एमाओवादी संविधान निर्माणमा गैरजिम्मेवार देखिएको आरोप लगाए ।
उनले भने, “कुनैपनि जात, जाति, धर्म, संस्कृति र सम्प्रदायको पहिचान लोकतन्त्रमा मात्र सम्भव छ । एकदलीय शासन व्यवस्थामा विश्वास गर्नेले पहिचानको कुरा गर्नु भ्रम दिनुमात्र हो ।”
कोइरालाले कतिपय दलहरु चुनावमा हार्ने डरले निर्वाचन बिथोल्ने रणनीतिमा लागेको भन्दै ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गरेका थिए ।
