समाचारआइतबार, कार्तिक १७, २०७०
आत्मबोधको पर्व दीपावली
दशैं, तीहार, छठ र इद जस्ता पर्वहरु अब नेपाली समाजमा धर्म र समुदायको घेरो नाघेर साँस्कृतिक पर्व बन्न पुगेका छन् ।
दशैंमा हिन्दू मित्रहरुकहाँ भोजमा सरिक हुने मुसलमान, इदका बेला मुसलमान साथीकहाँ ‘मिलन’ का लागि जाने हिन्दू र छठ पर्वमा सहभागी हुने पहाडी जिल्लाका वासिन्दा सबैले पर्वका बहानामा आफूभित्रको छटपटी र असन्तुष्टिलाई एकैछिन भए पनि विर्सेर अगाडीको संघर्षका लागि उर्जा खोजिरहेका हुन्छन् ।
त्यसैले त केही वर्षदेखि काठमाडौंमा छठका बेला तलाउ र नदी किनारहरु भरिभराऊ हुन्छन् भने दशैंका बेला मधेशीका निधारमा टीका देखिन्छ ।
दीपावली
नेपाली हिन्दूहरुले यमपञ्चकका पाँच दिन तीहार मनाउने गरे पनि लक्ष्मीपूजाका दिन गर्ने दीपावलीले भने धार्मीक चौघेरो नाघिसकेको छ । अँध्यारो रातमा दीप बालेर झिलिमिली पार्दै प्रकाश, सकारात्मक सोच र ज्ञानको आह्वान गर्न कसलाई मन नपर्ला ?
साँस्कृतिक गरिमायुक्त प्रकाशको महान पर्व हो दीपावली । युगौंदेखि ज्ञानको यो आलोक प्रवाहले कैयौं सभ्यतालाई उज्यालो पार्दै आएको छ ।
एकातिर दीपावली दुष्कर्ममाथि सत्कर्मको विजय र आपसी सद्भावकोे पर्व हो भने त्यहीं आशारुपी दीप प्रज्वलन गरेर निराशा र अंधकारलाई भगाउने प्रबृत्तिको पर्व पनि हो ।
दीपको अलौकिक सौंदर्यले सबै अनुष्ठानमा थप निखार ल्याउँछ । दीपावलीको सन्ध्यामा झिलिमिली बालिएको दियोले हामीलाई खुशी त दिन्छ नै साथै यो आस्था र सकारात्मकताको प्रतिक पनि हो ।
दियोमा रहेको तेल र बत्ति आफू स्वयम् जलेर मानव जीवलाई उज्यालो छर्ने प्रेरणा दिन्छन् । दीयोको मर्म नै आत्मबोध हो ।
विवेकको उपयोग
अहिले मुलुक निर्वाचनमय भएको छ । हेलिकप्टरदेखि पैदल हिंडनेसम्म बर्गका उम्मेदवारहरु चुनावी प्रचारमा हिंडेका छन् ।
दलका घोषणापत्र होउन् वा चुनावी भाषण सबैमा अतिशयोक्तिपूर्ण अभिव्यञ्जना पाइन्छ । एकअर्काप्रति कटुता पोख्नु, अर्कोलाई होंचो देखाएर आफू अग्लिएको भ्रम पाल्नु धेरैको नियती भएको छ ।
यी सबै विडम्बनाकाबीच झण्डै दुई दशकदेखि हिंसा, अब्यवस्था र छलछामको जाँतोमा पिसिएका नेपालीहरुले एकपटक फेरि निर्वाचनमार्फत आफ्नो अभिमत जाहेर गर्ने अवसर पाएका छन् ।
सबै धर्म र सामाजिक मान्यताले भन्छन, ‘जहाँ जनमतको कदर हुँदैन, जनता स्वतन्त्र, निर्भय र खुशी हुँदैनन् त्यो ब्यवस्था वा राज्य पतनोन्मुख हुन्छ ।’
४ मंसीर हाम्रालागि अमूल्य क्षण हो, मुलुकमा लोकतान्त्रिक ब्यवस्था सुदृढ गर्नका लागि मत जाहेर गर्ने, सबै नेपालीका लागि समान अधिकार र दण्डहिनताको अन्त्यका लागि गोरेटो बनाउने, हिंसालाई सँधैका लागि विदा गर्ने ।
यो प्रकाश पर्वले हामी सबैलाई उत्तम छनौटको विवेक र ज्ञान देओस । दीपावलीको शुभकामना ।
