समाचारसोमबार, कार्तिक १८, २०७०
निर्वाचन सुरक्षाबारे सरकार–दल छलफल
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई प्रमुख दलका नेताहरुले संविधानसभा निर्वाचन बहिष्कार गर्नेहरुको कार्यक्रम निस्तेज पार्नका लागि कडा कदम चाल्न आग्रह गरेका छन् ।
रेग्मीले दलहरुको चुनावी गतिविधि र तयारीका बारेमा १८ कात्तिकमा छलफल गर्न आह्वान गरेको सर्वदलीय बैठकमा नेताहरुले नेकपा–माओवादीलगायत निर्वाचनको विरोधमा उत्रेका दलका गतिविधि निस्तेज पार्न सरकारलाई सुझाव दिएका हुन् ।
नेताहरुले आफूहरु चुनाव प्रचारप्रसारका क्रममा जाँदा जनता चुनावप्रति उत्साहित पाएको भन्दै निर्वाचनमा कुनै पनि हिंसात्मक घटना हुन नदिन सरकार प्रतिवद्ध हुनुपर्ने बताए । संवेदनशील क्षेत्रहरुको पहिचान गरी सुरक्षा व्यवस्था थप मजबुत पार्न शीर्ष नेताहरुले जोडदिए ।
जवाफमा अध्यक्ष रेग्मीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण ब्यवस्था गरेको भन्दै ढुक्क भएर निर्वाचन प्रचारप्रसारमा लाग्न नेताहरुलाई आग्रह गरेका थिए ।
निर्वाचनमा सहभागी दलका कार्यकर्ताबीच नै मुलुकका विभिन्न ठाउँमा भइरहेका झडपप्रति दलहरुको ध्यानाकर्षण गराउँदै रेग्मीले कार्यकर्तालाई संयमित भएर चुनाव प्रचारप्रसार गर्न नेताहरुलाई आग्रह गरेको सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए ।
