समाचारमंगलबार, कार्तिक १९, २०७०
तिहार मनाइयो, तराईमा भरद्वितीया
११:२७ बजेको साइतमा दाजुभाईहरुले दिदीबहिनीसँग निधारमा सप्तरंगी टीका लगाएर हर्षोल्लासका साथ तिहार मनाएका छन् । भाइटीकाका लागि उत्तम साइत ११:२७ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने ज्योतिषीले बताएका छन् ।
आजका दिन दिदी बहिनीले दाजुभाईलाई टीका लगाएर विभिन्न मिठाई फलफुल र उपहार दिने चलन छ । त्यसैगरी दाजुभाईले पनि दिदीबहिनीलाई दक्षिणा र उपहार दिने गर्छन् ।
दाजुभाई वा दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित महादेवको मन्दिरमा गएर पनि टिका लगाउने गर्छन् । यो मन्दिर भाइटिकाको दिनमात्र सर्वसाधारणका लागि खुला हुन्छ ।
तराईमा भरद्वितीया
तिहारजस्तै मैथिल र भोजपुरी समाजमा दाजुभाइ–दिदीबहिनीबीचको आत्मिय प्रेमको प्रतिककारुपमा रहेका भ्रातृ द्वितीया अर्थात् भरद्वितीया (भाइपूजा) पर्व आज धार्मिक विधि अनुरुप हर्षोल्लासका साथ मनाइँदै छ ।
दीर्घायु तथा सुख, समृद्धिको कामना गर्दै मैथिल र भोजपुरी समाजमा दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने चाड हो–भरद्वितीया । कात्तिक शुक्ल पक्ष द्वितीयाका दिन मनाइने हुनाले यस पर्वलाई भर (भाइ) द्वितीया भनिएको हो ।
यसदिन मैथिल र भोजपुरी समाजमा घरको आँगनमा पिठारको (चामलको पीठो) अर्पणा बनाइ त्यसमाथि सिन्दुर र अविरले सजाएर राखिएको ठाउँमा काठको पीर्कामाथि दाजुभाईलाई बसाएर उनको निधारमा टीका लगाइ दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दछन् ।
पूजाको क्रममा दाजुभाइले दुबै हात अञ्जली बनाएर बस्दछन् । त्यसमा दिदीबहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिण्डोको फूल राखेर पवित्र जल हाल्दै धार्मिक विधी अनुरुप मन्त्रोउच्चारण सहित दाजुभाइलाई तीनचोटी पुजा गर्दछन् ।
पूजा सम्पन्न भएपछि दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार र दक्षिणा दिने प्रचलन छ ।
पूर्वराजपरिवारको टीका
भाइटीकाको उपलक्ष्यमा पूर्व राजपरिवारका सदस्यहरूले आज ११ बजेर २९ को शुभसाइतमा टीका लगाएका छन् ।
पूर्वमुमावडामहारानी रत्न शाहले नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा भाइ सुशीलशमशेर राणालाई टीका लगाइदिएकी छन् ।
त्यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीसँग कमलादीस्थित शोभागृहमा टीका लगाएको शाहका संवाद सचिव फणिराज पाठकले बताए ।
पूर्वरानी कोमल शाहले निर्मल निवासमा भाइहरू सुरज र उदयशमशेर राणालाई टीका लगाइदिएको पनि पाठकले जानकारी दिए ।
