समाचारबिहीबार, कार्तिक २१, २०७०
प्राथमिक विद्यालयमा दाहालको चुनावी सभा
एमाओवादीको मेची–महाकाली अभियान अन्तर्गत सुनसरी पुगेका अध्यक्ष पुष्पकमल दाहालले २१ कात्तिकमा लोकहीमा आयोजित सभामा मधेश केन्द्रित दलहरुलाई फेरि पनि भोट दिएर गल्ती नगर्न मतदाताहरुलाई आग्रह गरेका छन् । मधेशी जनताको मुक्तिदाता एमाओवादी मात्र भएको पनि दाहालले दाबी गरे ।
उनले कोशी बाढी पीडितहरुको पुनर्स्थापनाको सम्पूर्ण काम आफ्नो दलले गर्ने, सुनसरी खोलामा ब्यारेज बनाउने र सिँचाईको ब्यवस्था मिलाउने, स्थानीय सडकहरु पक्की बनाउने, कोशी टप्पु आरक्षका जनावरहरुलाई किसानको खेतबारीमा जान नदिने ब्यवस्था गर्ने जस्ता थुप्रै आश्वासन दिए ।
निर्वाचन आचार संहिताले विद्यालय क्षेत्रमा चुनावी सभा गर्नबाट रोक लगाएको भए पनि दाहालले भित्ताभरी सुनसरी ५ बाट एमाओवादी उमेम्दवार नन्दन कुमार दत्तको पोष्टर टाँसीएको सावित्री प्राथमिक विद्यालयमा सभा गरे ।
२०६४ सालको निर्वाचनमा यसक्षेत्रबाट माओवादीका उमेम्दवार रामजन मीयाले ३ सय ७० मत ल्याएका थिए । सभामा मतदाताहरुको न्युनस्थिति भएपछि उमेम्दवार नन्दन दत्तले ११ बजेअघि नै कार्यक्रम भएकोले उपस्थिति कम भएको बताएका थिए ।
सीता मादेम्बा⁄ सुनसरी
