समाचारआइतबार, कार्तिक २४, २०७०
दाहालको अभिव्यक्तिप्रति एमालेको आपत्ति
एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले एमाओवादीले आचारसंहित विपरित प्रचार सामग्री प्रयोगमा ल्याएको आफ्ना नेताहरुलाई नामै तोकेर व्यक्तिगत गालिगलौजमा उत्रिएको भनी आलोचना गरेको छ ।
कमिटीका तर्फबाट पोलिटब्युरो सदस्य प्रदीप नेपालले २४ कात्तिकमा जारी गरेको विज्ञप्तिमा १० दिनपछि हुने संविधानसभा निर्वाचनमा देशभर एमालेको पक्षमा आएको जनलहरका कारण अत्तालिएर एमाओवादी गालिगलौजमा उत्रिएको जनाइएको छ । ‘अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीमाथि लगाएको आरोप यथार्थमा आफ्ना कर्तुत ढाकछोप गर्ने कसरत बाहेक केही होइन ।’
एमाओवादीले शुरु गरेको मेचीमहाकाली अभियानका क्रममा विभिन्न स्थानमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले नीति नभएको र संघीयता विरोधी पार्टी भएको आरोप लगाउँदै आएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रचण्ड स्वयम् अडान नभएको र ठाउँ र व्यक्ति अनुसार असन्तुलित अभिव्यक्ति दिने नेता हुन भन्ने उदाहरण थुप्रै छन् ।’
संघीयता सम्बन्धमा एमालेको स्पष्ट दृष्टिकोण भएको भन्दै विज्ञप्तिमा एमाले बहुपहिचानका आधारमा संघको निर्माण हुनुपर्ने पक्षमा रहेको बताइएको छ । ‘हाम्रो पार्टी एमाओवादी जस्तो कहिले एकल पहिचान त कहिले भाषाका आधारमा र सुदुरपश्चिम पुग्दा अखण्ड सुदुरपश्चिम भन्नेजस्ता संघीयताका मामिलामा अस्थिर धारणा राख्दैन ।’
त्यस्तै एमालेले ताप्लेजुङको खोक्लिङमा २३ कात्तिकमा आयोजित सभामा ग्रिनेड प्रहार गरी बालकसहित सर्वसाधारणलाई घाइते तुल्याएको घटनाप्रति पनि आपत्ति जनाएको छ । नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चालाई आमहडताल, नेपाल बन्दजस्ता कार्यक्रम नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएकोे छ ।
