समाचारआइतबार, कार्तिक २४, २०७०
‘एक दिन आमहडताल, नौ दिन चक्काजाम’
३३ दलीय मोर्चाले २५ गते आम हडताल र बाँकी ९ दिन चक्काजाम गर्ने घोषणा गरेको छ ।
मोर्चाले २४ कात्तिकमा पत्रकार सम्मेलन गरी २५ कात्तिकमा आमहड्ताल गर्ने र २६ कात्तिकदेखि देशब्यापी चक्काजाम गर्ने निर्णय गरेको छ । निर्वाचनको संघारमा आम हड्ताल नगर्न सरकार, निर्वाचनपक्षधर राजनीतिक दलहरु, कुटनीतिक निकाय र उद्योगी ब्यवसायीहरुले आग्रह गरीहरेका बेलामा मोर्चाले निर्वाचन बहिस्कारलाई शसक्त बनाउन चक्का जाम गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा नेकपा माओवादीका सचिव देव गुरुङले निर्वाचन बहिस्कार गर्ने मौलिक अधिकार बिरुद्ध सेना परिचालन गरेर निर्वाचन गराउने तयारी गरेकाले बाध्य भएर आम हड्तालको आह्वान गर्नुपरेको बताए । उनले जनआकांक्षा विपरीत हुन लागेको निर्वाचनको प्रतिकारमा उत्रिने समेत दाबी गरे ।
चार दलले आपसी बेमेललाई ढाक्न आफ्ना कार्यकर्तालाई झट्टा मुद्दा लगाएर गिरफ्तार गर्ने तयारी गरेको मोर्चाको आरोप छ ।
विज्ञप्तिको पूर्णपाठ:
आज मिति २०७० कार्तिक २४ गतेका दिन ३३ दलीय राजनीतिक मोर्चाको बैठक नेकपा–माओवादीको केन्द्रीय कार्यालयमा बुद्धनगरमा बसी निम्न निर्णयहरु लिइएका छन् ।
१. मुलुकको विद्यमान सङ्कटलाई समाधान गर्नका लागि राजनीतिक शक्तिहरुको बीचमा राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन । त्यसैले सबै राजनीतिक शक्तिहरुको बीचमा गोलमेचसभाको आयोजना गरी नयाँ संविधान निर्माणको मार्गचित्र सुनिश्चित गर्दै संविधानसभाको निर्वाचनको प्रक्रियामा अगाडि बढौं भनी ३३ दलको तर्फबाट निरन्तर रुपमा सरकार र ४ दलसँग आग्रह गर्दै आइरहेको यथार्थता सर्वविदितै छ । परन्तु, उक्त प्रस्तावलाई निषेध गर्दै ४ दल र सरकारले जबर्जस्त रुपमा राष्ट्रघाती तथा जनघाती निर्वाचनको प्रायोजन गर्दैछ । त्यसको हामी घोर विरोध एवम् भत्र्सना गर्न चाहन्छौं ।
२. राष्ट्रिय सहमति कायम गर्नका लागि हामीले आन्दोलनका विभिन्न चरणका कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेका छौ्रं । यसै क्रममा यही कार्तिक २५ गतेदेखि १० दिनसम्म देशव्यापी आम हडतालको कार्यक्रम घोषणा गरेका थियौं । उक्त कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउन त्यसका रुपहरुमा परिमार्जन गर्नुपर्ने विभिन्न समुदायहरुको सुझावलाई पनि ध्यानमा राख्दै आन्दोलनका कार्यक्रमहरुलाई निम्न अनुसार परिमार्जन गरिएको छ ।
(क) यही कार्तिक २५ गते बिहान ६:०० बजेदेखि बेलुका ५:०० बजेसम्म देशव्यापी आमहड्ताल गर्ने निश्चित गरिएको छ । उक्त दिन सम्पूर्ण यातायात, बजार, कलकारखाना, शिक्षणसंस्थाहरु आदि सबै बन्द रहनेछ ।
(ख) कार्तिक २५ गते बिहान ६:०० बजेदेखि मंसिर ४ गते बेलुका ५:०० बजेसम्म दिनरात २४ सै घण्टा सम्पूर्ण यातायात हड्ताल गर्ने निश्चित गरिएको छ । जसअनुसार – एम्बुलेन्स, रेडक्रस, हस्पिटलका गाडी, शववाहन, फोहार बोक्ने गाडी, पानी बोक्ने गाडी, दूध र तरकारी बोक्ने गाडी, प्रेस, मानवअधिकार, कूटनीतिक नियोगका गाडीहरु, रिक्सा, साइकल र ठेलागाडा बाहेक सम्पूर्ण यातायातको चक्काजाम हुनेछ ।
(ग) यस अवधिमा राष्ट्रघाती तथा जनघाती निर्वाचनको विरोध तथा बहिष्कारको पक्षमा देशव्यापी रुपमा प्रचार–प्रसार, विरोधसभा, विरोध प्रदर्शन, जनप्रतिरोधका कार्यक्रमहरु आदि सञ्चालन हुनेछन् ।
३. उपरोक्त आन्दोलनका कार्यक्रमहरुलाई समर्थन र सहयोग गरिदिनुहुन सम्पूर्ण मजदूर, किसान, यातायात मजदुर, यातायात व्यवसायी, उद्यमी, व्यापारी, बुद्धिजीवी, शिक्षक–विद्यार्थी लगायत सबै जनसमुदायहरुमा हार्दिक आग्रह गर्ने निश्चित गरिएको छ ।
४. निर्वाचन बहिष्कार गर्ने वा भाग लिने दुवै लोकतान्त्रिक तथा मौलिक अधिकार हुन् । परन्तु, राज्यले बहिष्कार आन्दोलनको विरुद्ध दमन–धरपकड, झुठा मुद्दा र धम्की दिंदै आतङ्क सिर्जना गर्न खोजिएको छ । त्यसको विरोध एवम् भत्र्सना गर्दै गिरफ्तार गरिएका साथीहरुलाई विनाशर्त रिहा गर्न माग गर्दछ ।
५. मुलुकको राजनीतिक निकासको निम्ति संवाद र सहमतिको मार्ग अवलम्बन गर्दै राष्ट्रिय राजनीतिक सहमति कायम गर्नका लागि निर्वाचनको कार्यक्रम स्थगन गरी सहमतिको मार्गमा अगाडि बढ्नका लागि सरकार, ४ दल, अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाजलगायत सबैमा ३३ दलीय मोर्चा फेरिपनि हार्दिक आग्रह गर्दछ ।
मिति : २०७० कार्तिक २४
३३ दलीय राजनीतिक मोर्चा
बन्द विफल पार्ने सुरक्षा रणनीति तयार
बन्द तोड्ने महासंघ अध्यक्ष वैद्यको चेतावनी
