समाचारसोमबार, कार्तिक २५, २०७०
आमहड्तालका कारण देशभरको जनजीवन प्रभावित
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको आमहड्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले ठाउँठाउँमा तोडफोड र आगजनी गरेका छन् । केहि ठाउँमा बम बिष्फोटका घटना भएका छन् ।
बन्दका कारण गाडी, बजार, पसल, शिक्षण संस्था, उद्योग, कल–कारखाना ठप्प छन् ।
काठमाडौंका सडकसहित देशभरका मुख्यमुख्य ठाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ । काठमाडौंका सडकमा बन्दकर्ता देखा परेका छैनन् । बन्दकर्ता भेट्नसाथ पक्राउ गरिने प्रहरीले जनाएको छ ।
बन्दका कारण अत्यावश्यक सेवा लिन चाहने सर्वसाधारणलाई भने सास्ती परेको छ ।
बन्दकर्ताले ग्वार्कोमा नागरिक दैनिकको बा ४ च ४८७२ नम्बरको गाडी तोडफोड गरेका छन् । पत्रिका लिएर इमाडोलबाट बनेपा जान लागेको गाडी २५ कात्तिकमा बन्दकर्ताले तोडफोड गरेको नागरिकले जनाएको छ ।
प्रहरीले ललितपुरको विभिन्न ठाउँबाट १६ जना बन्दकर्तालाई पक्रेको छ । बालकुमारी, कुम्भेश्वर, मंगलबजार लगायतका विभिन्न ठाउँबाट उनीहरुलाई पक्रेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पूर्वी नेपालमा बन्दको सामान्य प्रभाव परेको छ । सुनसरीको धरान बजारमा बजार पसल खुलेका छन् । पुर्वमा सुरक्षा व्यवस्था कडा पारिएको पुर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । धरानमा निर्वाचनमा प्रयोग गर्न तेह्रथुम जिल्ला प्रशासन कार्यालयका लागि सेतो बोलेरो ना अ ९१४ अस्थाई नम्बरको गाडी तोडफोड भएको छ ।
बन्दकर्ताले दोलखामा पार्किङ गरिराखेका अरनिको यातायात सेवा समितिको बा ३ ख १८०६, बा २ ख ३५३४ नम्बरको बसमा आगजनी गरेका छन् ।
एमाओवादीको धनकुटा पार्टी कार्यालयमा २५ कात्तिकमा बम बिष्फोट भएको छ । धनकुटामा निर्माणाधिन एमाओवादीको भवनमा अज्ञात समूहले सुतली बम बिष्फोट गराएको धनकुटाका एसपी इश्वरीप्रसाद चापागाईले जानकारी दिए । बिष्फोटका कारण भवनमा सामान्य क्षति पुगेको छ ।
तनहुँ डुम्रे बजारमा बम बिष्फोट गराएको आशंकामा प्रहरीले २ जनालाई पक्रेको छ । डुम्रे बजारको चुँदी पुल नजिकै २४ कात्तिक राती सुतली बम बिष्फोट भएको थियो ।
वीरगञ्जको प्रतिमा चोकमा रोकिराखेको ट्रकमा नचिनेको समूहले आगजनी गरेको छ । चोकमा रोकिराखेको ४५८४ नम्बरको भारतीय ट्रकमा २४ कात्तिकको राती नचिनेको समूहले आगजनी गरेको हो । बन्दको पूर्वसन्ध्यामा वैद्य समूहले आगजनी गरेको हुनसक्ने आंशका गरे पनि मान्छेको पहिचान हुन नसकेको प्रहरीले बताएको हिमाल संवाददाता बिम्मी शर्माले जनाएकी छन् ।
जिल्ला सेक्रेटरी पक्राउ
नेकपा–माओवादी पर्वतका जिल्ला सेक्रेटरी हरि पौडेललाई प्रहरीले पक्रेको छ । २५ कात्तिकमा प्रहरीले उनलाई पक्रेको हो ।
पर्वतमा नेपाली सेना र नेपाल प्रहरीले दुई ठाउँमा बम निस्तेज पारेको छ । पर्वत कुश्मामा रहेको शिवालय माविको अगाडी राखिएको बम सेनाको टोलीले २५ कात्तिकमा डिस्पोज गरेको छ । पर्वतकै लभ्लीडाँडामा राखिएको बम पनि प्रहरीको टोलीले निस्तेज पारेको पर्वत प्रहरीले जनाएको छ ।
