समाचारमंगलबार, कार्तिक २६, २०७०
नोकरी लगाइदिन्छु भनेर भोट माग्दिनः कोइराला
निर्वाचन प्रचारका क्रममा २६ कात्तिकमा नेपालगन्जस्थित आदर्शनगर टोलवासीसँगको भेटमा कांग्रेस सभापति कोइरालाले झुठो कुरा गरेर आफ्नो दलले जनतालाई भ्रममा नपार्ने बताएका छन् । कोइरालाले भने, “जनता स्वतन्त्रतापूर्वक बाँच्न चाहन्छन्, आफ्नो अधिकार उपयोग गर्न चाहन्छ, ‘भोट’ का लागि झुठो कुरा गरेर जनतालाई कंग्रेसले कहिल्यै भ्रममा राख्दैन ।”
“म तपाईंको टोलमा सडक बनाइदिन्छु, नाली बनाइदिन्छु, छोराछोरीलाई नोकरीमा लगाइदिन्छु भनेर भोट माग्दिन”, उनले भने, “मुलुकमा कसको कारणले अस्थिरता आयो, किन अराजकता बढ्यो, कानुनी शासनलाई कसले भताभुङ्ग बनायो, त्यो बुझेर तपाईंहरु भोट दिनुहोस् ।”
कोइरालाले निर्वाचनपछि गठन हुने संविधानसभाले पहिलो छ महिनामा संविधानको मस्यौदा तयार गर्ने र एक वर्षभित्र संविधान जारी गर्ने विश्वास दिलाउँदै विवादित विषयमा दलीय सहमति निर्माण हुने समेत दाबी गरे ।
“हामी सङ्घीयता विरोधी होइनाँै, हाम्रो दललाई सङ्घीयता विरोधी भनेर प्रचार गर्न खोजिएको छ तर यथार्थ के हो भने स्वर्गीय गिरिजाबाबुले नै सङ्घीयताको पक्षमा हस्ताक्षर गर्नुभएको हो” सभापति कोइरालाको स्पष्ट पारे ।
बहुपहिचानसहितको थोरै सङ्घीय राज्य निर्माणको पक्षमा आफ्नो दल रहेको स्पष्ट पार्दै उनले बहुपहिचानसहितको सङ्घीयताले सबै जातजाति, भाषाभाषी, धर्म सम्प्रदायका व्यक्तिलाई एकतामा बाँध्ने जिकिर गरे ।
“निर्वाचनमा तपाइँहरु निर्धक्कसँग भोट खसाल्न जानुस्, कुनै प्रकारको डर अब छैन, म पनि आफ्नो क्षेत्रमा हिँडेरै भोट हाल्न जान्छु,” कोइरालाले भने ।
रासस
