समाचारमंगलबार, कार्तिक २६, २०७०

उपत्यकामा बन्दको प्रभाव परेन, देशका विभिन्न स्थानमा बम

हिमालखबर

२५ कात्तिकको तुलनामा निजी तथा सार्वजनिक सवारी साधन बाक्लो सङ्ख्यामा चलेका छन् भने शैक्षिक संस्था, उद्योग, कलकारखाना र सडक चोकका पसल खुलेका छन् । साझा यातायातलगायत सार्वजनिक साधन चलिरहेका छन् ।

बन्दकर्ताले उपत्यकाका केही स्थानमा बिहान तोडफोडको प्रयास गरेको भए पनि अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बन्दकर्ताले बिहान काठमाडौँ र ललितपुरका आधा दर्जन स्थानमा विभिन्न सवारीसाधनमाथि तोडफोड गरेका छन् । काठमाडौँको प्रदर्शनीमार्ग, पुरानो बानेश्वर, मध्यबानेश्वर र नयाँ बानेश्वरमा ट्याक्सी र ललितपुरको बालकुमारीमा माइक्रोबसमाथि आक्रमण भएको थियो ।

प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीका अनुसार अहिले उपत्यकाको जनजीवन सामान्य छ, सवारी साधन निर्वाधरुपमा चलेका छन् र सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको छ । प्रवक्ता केसीले जबर्जस्ती बन्द गराउन खोज्ने सात जनालाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा काठमाडौँमा तीन, पोखराबाट दुई र सुर्खेतबाट दुई जना छन् ।

प्रहरीले २५ कात्तिकमा ८३ बन्दकर्तालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकालाई दोषी देखिए कडा कारबाही गर्ने र बाँकीलाई स्थानीय प्रहरीको रोहबरमा छोडिने केसीले बताए ।

चार वर्षे बालक घाइते

प्रहरीका अनुसार बिहान ललितपुरको बालकुमारीमा लगनखेल–रत्नपार्क चल्ने बा१ज ६२८८ नंको माइक्रोबसमा पेट्रोलको बोतलले आक्रमण गर्दा त्यसमा सवार चारवर्षे बालक अभिषेक लामा घाइते भएका छन् । गल्लीबाट लुकेर प्लास्टिकको बोतलमा तेल हालेर माइक्रोबसलाई प्रहार गर्दा माइक्रोको सिसा फुटेर केही व्यक्ति घाइते भएको प्रहरीको भनाइ छ ।

यसैबीच बन्द विफल पारी जनजीवन सामान्य पार्न सरकारले उपत्यकामा विशेष सुरक्षा सतर्कता अपनाएको छ ।

सुरक्षाका सवै निकाय परिचालित

उपत्यकाका सडकमा सुरक्षा निकायका तीनवटै अङ्गलाई परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सडक र संवेदनशील स्थानमा गस्ती गरिरहेका तथा प्रहरीले उपत्यकाका सडकमा बिहानैदेखि पिनेट, मोबाइल र स्कर्टिङ गरी सवारी साधन सञ्चालनको वातावरण बनाइरहेको छ ।

उपत्यकामा आज आपूर्ति व्यवस्था सहज र नियमित रहेको सरकारले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले सरकारले सोमबार सरोकार भएकाहरुसँग छलफल गरी आपूर्ति व्यवस्थालाई नियमित पारिएको बताए । उनका अनुसार सोमबार कालिमाटी तरकारी बजारमा ५६० मेट्रिकटन तरकारी आएको थियो जुन सामान्य दिनको सरह नै हो । आज पनि सोही हाराहारीमा तरकारी ढुवानी भएको बताइएको छ ।

धादिङमा सेनाद्वारा बम निष्क्रिय

धादिङबेसी–टारीबेसी सडकखण्डअन्तर्गत धादिङबेसीको पुछार बजार नजिक राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

धादिङबेसीबाट आरुघाटतर्फ जान लागेका विदेशी पर्यटकले २६ कात्तिक बिहानै मुरलीभञ्ज्याङ –३ स्थित हनुमान मन्दिर नजिक सडकमा ग्यास सिलिन्डरसहितको शङ्कास्पद वस्तु देखेर प्रहरीलाई खबर गरेपछि बिहान ७ः३० बजे बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाएको हो ।

निष्क्रिय बनाइएको बम ठूलो आवाजसहित पड्केको थियो । रासस

बागलुङमा पाइप बम फेला

बागलुङ बजारको शिवधाराचोकमा २५ कात्तिक राति पाइप बम फेला परेको छ । नेकपा–माओवादीलगायतको ३३ दलीय मोर्चाले आह्वान गरेको आमहडतालको पहिलो दिन  राति ११ बजे उक्त बम फेला परेको हो ।

शिवधाराचोकस्थित नेपाली काँग्रेसको पार्टी कार्यालय नजिकै प्लास्टिकले बेरिएको अवस्थामा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरी टोली र नेपाली सेनाको सूर्यदल गणबाट खटिएको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।

जिआई पाइपमा बारुद भरेर बिष्फोटका लागि राखिएको बम बारे अनुसन्धान भइरहेको गुरुङले जानकारी दिए । बम निष्क्रिय पार्ने क्रममा ठूलो आवाज निस्किएकाले उक्त बम शक्तिशाली हुन सक्ने सुरक्षा निकायको अनुमान छ ।

महोत्तरीको दुई स्थानमा बम बरामद

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा २६ कात्तिक बिहान तीन वटा बम फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार जिल्लाको प्रमुख व्यापारिक केन्द्र बर्दिवासको वडा नं ८ भोला वसन्त चोकमा एउटा बम फेला परेको छ भन्ने अर्को सहसौला गाविस अन्तर्गर्त जलेश्वर–बर्दिवास सडकखण्डमा दुई वटा बम फेला परेको छ ।

बर्दिवासमा फेला परेको बम बर्दिवासस्थित नेपाली सेनाको टोलीले डिस्पोज गर्दा सो बमसामान्य प्रकृतिको सुतली बम रहेको देखिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक झाले बताए ।

त्यस्तै सहसौलामा फेला परेको दुईवटा बम जिल्लाको क्षेत्र नं ५ को खोपी बेस क्याम्पका नेपाली सेनाको टोलीले डिस्पोज गर्न खोज्दा दुईवटै बमजस्तो रहेको रातो कपडाले बेरिएको पोकाभित्र ढुङ्गाको स–साना कण र गेरु फेला परेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक नेत्रबहादुर बरुवालले जानकारी दिए ।

नेकपा–माओवादीले आसन्न संविधानसभाको निर्वाचन बहिष्कार गर्दै गरेको यातायात बन्दको क्रममा जिल्लावासीलाई तर्साउनका लागि शङ्कास्पद वस्तुहरू राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>