समाचारमंगलबार, कार्तिक २६, २०७०
‘सर्वहाराका नेता’को राजकीय जीवनशैली
नेपालबाट ‘सामन्ती ब्यवस्थाको प्रतिक’ राजतन्त्रको अन्त्यका लागि गुरिल्ला युद्ध गरेका ‘सर्वहाराका नेता’ पुष्पकमल दाहाल जस्को नामले कुनैबेला नेपालका कुलीन राजनीतिज्ञ र सुरक्षा निकायसमेत तर्सिन्थे उनी अहिले अर्बपतिको जस्तो बिलासी जीवन बाँचिरहेका छन् ।
बेलायतबाट प्रकाशित हुने पत्रिका ‘द टेलिग्राफ’ ले दाहालको विलासी जीवनशैलीका बारेमा लेखेको छ, “कुनै बेला माओवादीले आफ्नो सम्पत्ति कब्जा गर्ने भन्दै डराउने धनी छिमेकीहरुमाझ दाहाल लाजिम्पाटको विशिष्ट क्षेत्रमा बस्छन् । स्वर्गीय राजा विरेन्द्रका सैनिक सल्लाहकार समेत रहेका जनरल शान्तकुमार मल्ल उनका नजिकका छिमेकी हुन् ।”
रातो इँटाले बनेको उनी बस्ने ‘हवेली’ परिषरमा स्वीमिङ पुल र ब्याडमिन्टन कोर्ट समेत छ । उक्त भवनका सुविधासम्पन्न १५ कोठामा उनको कार्यालय र व्यक्तिगत निवास समेत छ ।
टेलिग्राफले दाहालको परिवारलाई उद्धृत गर्दै उक्त घरको भाडा प्रति महिना ८०० पाउण्ड (करिब १ लाख ३० हजार रुपैयाँ ) भएको जनाएको छ ।
दाहालका छोरा प्रकाशले फेसबुक पेजमा सुरक्षाका कारण र ‘प्रचण्डको हैसियत अनुसार’ लाजिम्पाटमा सर्नु परेको उल्लेख गरेका छन् । तर, दाहालको महंगो घडी, डिजाइनर सुट, विलासी गाडीले गर्दा उनकै पार्टीका ‘कमरेड’ हरुको आक्रोश बढाएको छ ।
पूर्वमन्त्री एवम् कुलिन राणा खानदानका अगुवा पशुपति शम्शेर राणा दाहालको सुखशयल र सुविधासम्पन्न निवासको समाचारले माओवादीभित्रै पनि धनी र गरिबबीचको विभाजनलाई स्पष्ट पारेको बताउँछन् ।
राणा भन्छन्, “कमरेड प्रचण्डसँग युद्धबाट आर्जित अर्बौ रुपैयाँ छ र उनको विशिष्ट राजनीतिक सपना पनि छ । यो उनका समर्थकहरुका लागि निकै नराम्रो कुरा हो । माओवादी पार्टीभित्रको मूल समस्या भनेकै हुने खाने र हुँदा खानेहरुबीचको विभेद हो । उनीहरुबीचको फरक गहिरो छ ।”
द टेलिग्राफको समाचार पढ्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस
Nepali Maoist leader adopts millionaire’s lifestyle

