समाचारबिहीबार, कार्तिक २८, २०७०
कांग्रेसले रुकुम–२ मा प्रचार रोक्यो, उम्मेदवार सदरमुकाम फिर्ता
रुकुमको २ नं. निर्वाचन क्षेत्र अन्तर्गत पर्ने उत्तरपश्चिमी गाविस अर्मामा चुनावी सभा गर्न जाँदै गरेका नेपाली कांग्रेस उम्मेदवार गोपालजीजंग शाह माथि आक्रमण हुने सूचना पाएपछि शाह निर्वाचन प्रचारका सबै कार्यक्रम रोकी सदरमुकाम फिर्ता भएका छन् ।
यसअघि जिल्लाको उत्तरी गाविस सिम्लीमा उम्मेदवार शाहसहितका कांग्रेस कार्यकर्ताहरुलाई एमाओवादी कार्यकर्ताहरुले दिनभर घेरामा राखेर कार्यक्रम गर्न दिएका थिएनन् भने बेलुका घर फर्कने क्रममा उनीहरुमाथि ढुंगामु्ढा समेत गरेका थिए । सिम्लीबाट छिवाङ फर्कने क्रममा कांग्रेस कार्यकर्ताहरुमाथि सुयालेमा आक्रमण भएको थियो ।
स्थानीय प्रहरी र प्रशासनले सुरक्षा नदिएकाले कार्यकर्ताहरुको ज्यान खतरामा पारेर प्रचारमा जान नसकिने उम्मेदवार शाहले बताए । “हाम्रो सुरक्षाका लागि दुई जना म्यादी प्रहरी मात्रै दिइएको छ, उता एमाओवादीले अर्मामा १० गाविसका कार्यकर्ता जम्मा पारेको छ” उनले भने, “त्यसैले हामी निर्वाचनका कार्यक्रम स्थगित गरी सदरमुकाम फर्केका छौं ।”
उम्मेदवार शाहलाई सदरमुकाम पुर्याएर फर्कने क्रममा पनि कांग्रेस कार्यकर्ताहरुमाथि आक्रमण भएको रुकुम कांग्रेसले जनाएको छ । रुकुमको २ नं. क्षेत्रका जम्मा २० गाविसमध्ये १८ वटामा प्रचार कार्यक्रम सकिएको तर, सिम्ली र अर्मामा भने एमाओवादीको आक्रमणले जान नसकिएको पनि रुकुम कांग्रेसले जानकारी दिएको छ ।
रुकुम–२ मा एमाओवादीका तर्फबाट जनार्दन शर्मा उम्मेदवार छन् । “मेरो विजय सुनिश्चित देखिएपछि अतिवादीहरु आक्रमण गरेर जनतालाई आतंकित पार्न खोज्दैछन,” शाहले भने ।
लक्ष्मण केसी, रुकुम

