थप समाचारशुक्रबार, कार्तिक २९, २०७०

एमाले नेतामाथि एमाओवादीको आक्रमण

हिमालखबर

बैतडीको क्षेत्र नं १ को चुनावी प्रचारप्रसारका क्रममा मल्लादेही–९ बबिडामा पुगेको नेकपा एमाले पूर्व अध्यक्ष नरेन्द्र विष्टसहित २१ जनाको टोलीमाथि झन्डै एक सयको सङ्ख्यामा आएका एमाओवादी कार्यकर्ताले २८ कात्तिक राति एक्कासी आक्रमण गरेका छन् ।

आधा घण्टाको दुरीमा पुरचौडी हाटमा सेनाको बेस क्याम्प र प्रहरीचौकी भए पनि उनीहरुले सुरक्षाका लागि ध्यान नदिएको घाइतेले गुनासो गरेका छन् ।

हातहातमा लाठीसहित आएका एमाओवादी कार्यकर्ताले आक्रमण गरेपछि ६ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार हुँदैछ भने ११ जना अझै सम्पर्कमा नआएका घाइते विष्टले बताए ।

एमाले पूर्व अध्यक्ष विष्ट, एमाले निकट दलित सङ्घका केन्द्रीय उपाध्यक्ष नरेश विक, भगिरथ कुँवर, कर्ण विष्ट, दिलीप विष्ट, जनक कुँवरको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । उनीहरुले भागेर ज्यान जोगाउन सफल भएको बताएका छन् ।

घाइतेहरुका शरीरमा लाठीले हिर्काएका निलडाम छन् भने पिठ्युँ, हात र खुट्टामा अत्याधिक चोट लागेको छ । एमाओवादी कार्यकर्ताहरुले आफूहरुसँग रहेको करिब  १ लाख ५० हजार रुपैयाँ, मोबाइल, झोलालगायतका सामग्री लुटेर लगेको अर्का घाइते नरेश विकले बताए ।

घटनापछि तत्कालै जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक भरत शाहको नेतृत्वमा ३२ जना प्रहरी पठाइएको र २९ कात्तिकमा फेरि २० जना प्रहरी पठाएको प्रहरी नायब उपरीक्षक होमनाथ निरौलाले बताए ।

घटनास्थलतर्फ थप एमाले कार्यकर्ताको समूह गएकाले अझै झडपको सम्भावना रहेको छ ।

बैतडीको निर्वाचन क्षेत्र नं १ मा एमाओवादी कार्यकर्ताले अन्य पार्टीका नेतालाई जान रोक लगाएका छन् । उनीहरुले एमाओवादी बाहेकका पार्टीका कार्यकर्तालाई खान बस्न दिनेको घरमा आगो लगाइदिने चेतावनी दिएको स्थानीयले बताएका छन् ।

एमाओवादीका जिल्ला संयोजक गोपाल चन्दले घटनास्थलमा फोनले काम नगर्ने भएकाले यथार्थ जानकारी नआएको बताएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>