थप समाचारशुक्रबार, कार्तिक २९, २०७०
झापामा नुनको कृतिम अभाव
झापाका व्यापारीले एक्कासी नुन लुकाउन थालेका छन् । २८ कात्तिकसम्म सहज रुपमा पाइराखेको नुन २९ कात्तिकदेखि एकाएक पाउन छाडिएको हो ।
नुन बिक्री गर्ने व्यापारीले पनि पाँच गुणा महंगो मूल्य लिइरहेका छन् । उनीहरुले प्रतिकेजी १७ रुपैंया पर्ने नुन १०० रुपैंयासम्ममा बिक्री गरिरहेका छन् ।
झापाका दमक, बिर्तामोड लगायतका बजारका व्यापारीले २९ कात्तिक बिहानदेखि प्रतिकेजी नुनको मूल्य ५० देखि १०० रुपैंया लिइरहेका छन् । झापा– ११ की गृहिणी सजना थापाले सधैं किन्ने पसलबाटै एक केजी नुन ७० रुपैंयामा किनेको बताइन् ।
व्यापारीले एक्कासी नुनको भाउ बढाएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय झापाले नुनको कृतिम अभाव र कालोबजारी गर्ने व्यापारीबारे अनुसन्धान भइरहेको जनाएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन वाग्लेले कालोबजारी गर्ने व्यापारीलाई अनुसन्धानपछि कारवाही गरिने बताए ।
उनले साल्ट ट्रेडिङसँग पर्याप्त मात्रा नुनको स्टक रहेको पनि जानकारी दिए ।
गोपाल गडतौला, हिमालखबर
