समाचारशनिबार, मंसिर १, २०७०
तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति पक्राउ
भारतको बिहार राज्यको पटनाबाट मुक्तिलाई प्रहरीले २९ कात्तिक साँझ पक्राउ गरेको सुरक्षा स्रोतले जनाएको छ । उनलाई पक्राउ गरी नेपाल ल्याईदै गरिएको बताईएको छ ।
मोर्चाका सैन्य कमाण्डर भाष्कर मुक्तिले शुक्रबारसम्म पटनामा रहेका मुक्ति अचानक सम्पर्कबिहिन हुन पुगेको बताएका छन् ।
को हुन राजन मुक्ति ?
धनुषाको लक्ष्मीपुर बगेवा–७ का रंजितकुमार झा(२८)को भूमिगत भएपछिको नाम हो राजन मुक्ति । उनी मधेस आन्दोलन अघिदेखि भूमीगत थिए । शुरुमा नागेन्द्र पासवान ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चामा रहेका उनले २०६६ मा आफ्नै नेतृत्वमा जनतान्त्रिक तराई मुक्ति मोर्चाको गठन गरेका हुन ।
आन्तरिक राजश्व कार्यालयका खरिदारलाई गोली हानेपछि प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका मुक्तिले १८ बैशाख २०६९ मा ५ जनाको ज्यान जाने गरी जनकपुरको रमानन्द चौक बम विष्फोटको जिम्मेबारी समेत लिएका थिए । सञ्चार उद्दमी अरुण सिंघानियाँको हत्याको जिम्मेबारी सहित धनुषा, महोत्तरी, सर्लाही, सिरहा लगायत तराईका जिल्लाहरुमा भएका दुई दर्जनभन्दा बढी हत्या तथा अपहरणको घटनाको मुक्तिले जिम्मेबारी लिएका छन् ।
प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका मुक्ति समूहकै शूटर दिपक सिंह पक्राउ परेको महिना दिन नहुँदै उनी पक्राउ परेका हुन् ।
ईश्वरचन्द्र झा, जनकपुर
