समाचारशनिबार, मंसिर १, २०७०
दाहाललाई सय किलोको माला
चुनावी सभालाई सम्बोधन गर्न १ मंसीरमा पर्साको वीरगञ्ज पुगेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई एमाओवादी उम्मेदवार बसरुद्दिन अन्सारीले सय किलोको माला लगाइदिएका छन्.। भ्रष्टाचारको मुद्दामा जेल परेका कांग्रेस नेता खुमबहादुर खड्कालाई पनि जेलबाट २३ असोजमा छुट्दा पर्सा कांग्रेसले सय किलोको माला लगाइ दिएपछि उनी चर्चा आएका थिए । दुवै मालाका लागि फूल भारतबाट आयात गरिएको हो ।
संविधानका मुद्दा ओझेलमा
एमाओवादी अध्यक्ष दाहालले पर्साको सभालाई सम्बोधन गर्दा संविधान निर्माणका मुद्दाहरुमा भने जोड दिएनन् । संविधान निर्माण भन्दा पनि स्थानीय विकासका आश्वासन बाँडे दाहालले ।
उनले एमाओवादीले पर्साको पाँचवटै क्षेत्रमा बहुमत प्राप्त गरे यहाँको समग्र विकासमा जोड दिने बताए । वीरगञ्ज चिनी कारखानाको पुनःसञ्चालन तथा ग्रेटर वीरगञ्जको अवधारणालाई मूर्तरुप दिईने उनले आश्वासन दिए । यसअघि अन्य जिल्लाहरुका सभामा पनि दाहालले यस्तै विकासे आश्वासन बाँड्दै हिंडेका थिए ।
आश्वासनका पुलिन्दा बाँडदाबाँडदै थाकेका दाहालले संवोधनका क्रममा वीरगञ्जलाई जिल्ला र निर्वाचन क्षेत्र नं. २ भनेर गलत सम्बोधन गरेका थिए ।
बिम्मी शर्मा, वीरगञ्ज
