समाचारआइतबार, मंसिर २, २०७०
कांग्रेस कार्यकर्ताको घरमा एमाओवादीको आगजनी
गोरखाको तान्द्राङ– १ टरिफाँटमा १ मंसीर राति नेपाली कांग्रेसका कार्यकर्ता एवम् शिक्षक संघ गोरखाका पूर्व जिल्ला सचिव तारा पुडासैनीको घरमा आगजनी गरी क्षति पुर्याएका छन् ।
राति करिव १२:३० बजे एमाओवादीका गोरखा जिल्ला इञ्चार्ज कृष्ण धितालको नेतृत्वमा आएको १५/२० जनाको समूहले् आफ्नो घरमा आगजनी गरेको पिडित पुडासैनीले जानकारी दिए । घरमा २ मंसीर बिहानसम्म पनि आफ्नो घरमा आगो बलिरहेको छ । पुडासैनीले बताए । आगजनीबाट घर र घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
“आगजनीबाट घरभित्र रहेको अन्नपात, गहना, लत्ता कपडा, नगद, लालपुर्जा तथा विद्यालयका कागजपत्र समेत जलेर नष्ट भएको छ,” पिडित ताराले भने, “हामीहरु घरमा नभएकाले बाँच्यौ ।” तारा गण्डकी उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक समेत हुन् ।
धावामा कुटपिट
त्यस्तै एमाओवादी कार्यकताको समूहले नेपाली कांग्रेस धावा गाउँका उपसभापति शिवप्रसाद लामिछानेलाई निर्घात कुटपिट गरी घाइते बनाएका छन् ।
राति करिब दुई बजे एमाओवादीका करिब १५/२० जनाको समूहले लामिछानेलाई आक्रमण गरि घाइते बनाएको र उनको अहिले आरुघाटस्थित स्वास्थ चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
घाइतेको टाउकोमा गहिरो चोट लाग्नुका साथै खुट्टा भाँच्चिएको नेपाली कांग्रेस धावा गाउँ सभापति जानकी बञ्जराले जानकारी दिए । उक्त घटनामा नेपाली कांग्रेसका कार्यकर्ता शेरबहादुर लामिछाने पनि घाइते भएका छन् । उनको हात भाँच्चिएको छ ।
घटना पछि तत्कालै त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
