थप समाचारआइतबार, मंसिर २, २०७०
उम्मेद्वारले मेलामा पानी बाँडे (तस्वीरसहित)

बाँके– ३ का एमाओवादी उमेद्वार दामोदर आचार्यको प्रचारका लागि बाँकैको राप्ती किनारमा लागेको पूर्णिमा मेलामा पानी वितरण गरिँदै ।
एमाओवादीको चुनाव चिन्ह अंकित झण्डा र उमेद्वार दामोदर आचार्यको फोटो टाँसिएको भे १ च ८८३ नम्बरको पिकअप भ्यानले बाँकेको राप्ती किनारमा लागेको पूर्णिमा मेला भर्नेहरुलाई खेपका खेप जारको पानी ओसार्दै वितरण गरेको छ ।
उम्मेद्वार आचार्यले भने त्यसबारे आफूलाई केही जानकारी नभएको र आफूलाई फसाउन कसैले षडयन्त्र गरेको हुनसक्ने प्रतिक्रिया दिए । तर उक्त भ्यानका चालकले भने उमेद्वारले नै पानी वितरण गर्न लगाएको बताएका थिए ।
संविधानसभा सदस्य निर्वाचन आचारसंहिता अनुसार १ मंसीर राति १२ बजेपछि शुरु भएको मौन अवधिमा प्रचारप्रसार गर्न तथा झण्डा टाँगिएको गाडि कुदाउन पाइँदैन । तर उक्त नियमको धज्जी उडाउँदै एमाओवादीको चुनावचिन्ह अंकित झण्डावाल गाडी सडकमा कुदिरहेको थियो ।
मौन अवधि शुरू नहुँदै पनि मतदातालाई प्रभावित गर्ने उद्देश्यले कुनै पनि प्रकारका सामग्री, जिन्सी तथा अन्य वस्तु वितरण गर्न नपाइने व्यवस्था आचारसंहिताले गरेको छ ।
त्यस्तै सोही मेलामै राष्ट्रिय मधेस समाजवादी पार्टीका बाँके क्षेत्र नम्बर २ का उमेद्वार विद्या शर्मा र समानुपातिक उम्मेद्वार आरती रावलले पर्चा बाँड्दै भोट मागिरहेका छन् ।
मौन अवधिमा पनि प्रचार जारी

बाँकेमा लागेको पूर्णिमा मेलामा मौन अवधि शुरू भएपछि पनि पर्चा बाँड्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका बाँके– २ का उम्मेद्वार विद्या शर्मा र समानुपातिक उमेद्वार आरती रावल ।
यसैबीच ठूला दलका उमेद्वारहरूले मौन अवधि शुरू भएको १२ घण्टा बितिसक्दा पनि प्रचारप्रसारलाई जारी राखेको पाइएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा परेका मौखिक उजुरीका आधारमा उक्त कार्यालयले बुझ्दा एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, सद्भावना लगायत पार्टीका उमेद्वार प्रचारप्रसारमै रहेको पाइएको सञ्चार अधिकृत ओम देवकोटाले जानकारी दिए ।
उनले त्यसबारे कार्यालयले बुझ्दा प्रचारबाट फर्कदैं गरेको जवाफ आएको र उजुरी बढेपछि अनुगमन बढाएको बताएका छन् ।
तुफान न्यौपाने, नेपालगञ्ज
