समाचारआइतबार, मंसिर २, २०७०

बहिस्कारका नाममा हिंसा गर्नु कायरतापूर्णः रेग्मी

हिमालखबर

२ मंसीर साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचनको बहिस्कार गर्ने क्रममा राजनीतिक चरित्रभन्दा बाहिर गई हिंसात्मक कार्य गर्नु र अदालतको आदेशविरुद्ध अभिव्यक्ति दिनु कानून विपरित तथा गैरजिम्मेवारीपनाको पराकाष्ठा भएको बताएका छन् ।

“संविधानसभाको निर्वाचनमा भाग नलिनु एउटा कृुरा हो, तर बहिष्कारको नाममा आफूले सार्वजनिक रुपमा व्यक्त गरेको धारणाविपरित राजनीतिमा हिँसाको प्रयोग हुनु अत्यन्त दुःखदायी विषय हो,” अध्यक्ष रेग्मीले भने, “जुनसुकै उद्देश्यले गरिएको भए पनि हिँसाको परिणाम दुःखदायी हुने र त्यसबाट सर्वसाधारण नागरिक नै पीडित हुने भएकाले यस्तो कार्य निन्दनीय छ ।”

उनले नेकपा–माओवादी र सम्बद्ध मोर्चालाई बन्द, हड्ताल लगायत विरोधका सम्पूर्ण कार्यहरु तत्काल रोकी राजनैतिक व्यवहार प्रदर्शन गर्न र जनभावनाको सम्मान गर्न आग्रह गरे ।

उनले भने, “एकातर्फ निर्वाचनको शान्तिपूर्ण बहिष्कार गर्ने भनी प्रचारबाजी गर्ने, अर्कोतर्फ निहत्था यात्रु बसेका सवारी साधन तोडफोड गर्ने, आगजनी गर्ने, सार्वजनिक ठाउँमा बम राखी आतङ्कित पार्ने र ज्यान मर्नेसम्मको कार्य गर्नु मानवताविरोधी एवं अमानवीय कार्य हुन्, जुन् कदापि क्षम्य हुन सक्दैन ।”

अमानवीय, क्रुर एवं हिँसात्मक कार्यमा संलग्न जोसुकैलाई पनि कारबाही चलाउन सरकार दृढ संकल्पित रहेको रेग्मीले बताए ।

विगतमा संविधानसभा विघटन सँगसँगै देशमा संवैधानिक तथा राजनीतिक जटिलता आएको तर, त्यस्तो जटिलता हटाउने तात्कालिक प्रबन्ध गरी संविधानसभाको अर्को निर्वाचन गर्ने प्रयोजनका लागि वर्तमान सरकार निर्माण भएको रेग्मीले बताए ।

उनले निर्वाचनले नेपाली जनताको चाहनाअनुरुपको संविधान निर्माण गर्ने संविधानसभा र जननिर्वाचित सरकारको निर्माण गरी नेपाललाई रुपान्तरणको प्रक्रियामा अग्रसर गराउने भन्दै सबैलाई निर्धक्क भएर मतदान गर्न पनि आग्रह गरे ।

सरकारले निर्वाचन सम्पन्न गर्न विगत आठ महिनादेखि गरेका सबै कार्यले सफलता प्राप्त गरेको भन्दै रेग्मीले निर्वाचनका लागि विशेष सुरक्षा रणनीति अवलम्बन गरिएकोले निशंक भएर मतदान गर्न आग्रह गरेका थिए ।

उनले बन्द र हड्तालको अवज्ञा गरी जनजीवन सामान्य बनाएको भन्दै आमजनसमुदाय, नागरिक समाज, सञ्चारमाध्यम, व्यवसायी, उद्यमी लगायतलाई धन्यवाद समेत दिए ।

निर्वाचनलाई राष्ट्रिय महापर्व एवं ऐतिहासिक अवसरका भन्दै अवसरको सदुपयोग गर्न उनले सबैलाई आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>