समाचारआइतबार, मंसिर २, २०७०

एमाओवादीविरुद्ध एमालेको उजुरी

हिमालखबर

नेकपा एमालेको प्रतिनिधि मण्डलले प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग २ मंसीरमा भेटी एमाओवादीले विभिन्न स्थानमा निर्वाचन आचारसंहित विपरित कार्य गरेको भन्दै त्यस्ता कार्य रोक्न आयोगको ध्यानाकर्षण गराएको छ ।

एमालेका सचिव युवराज ज्ञवाली र निर्वाचन विभागका प्रमुख अग्नि खरेलले प्रमुख आयुक्तसँग भेटी सिरहा क्षेत्र नं ५ को मर्दनाह, गौतारी, कल्याणपुर कालाबजार, बडारा मालको वडा नं ६, ७ को बथानटोल र भुल्कियामा रहेका मतदान केन्द्रमा एमाओवादीले अन्य दलका कार्यकर्तालाई प्रवेशमा निषेध गरेको प्रचार सामग्री वितरण गर्न नदिएको तथा बुथ प्रतिनिधि बस्ने व्यक्तिलाई धाकधम्की दिने गरेको भन्दै उजुरी गरेका छन् ।

यस्तै, रुकुम क्षेत्र नं २ को पूर्तिमकाँडा, विजेश्वरी, बाफिकोट, आठबीसकोट, दुली र गोतामकोटमा एमाओवादीले वाइसिएलको अस्थायी शिविर स्थापना गरी स्थानीय मतदातालाई मत हाल्न गए अप्रिय घटना हुने भनी धम्की दिएको उजुरीमा उल्लेख छ ।

त्यसैगरी काठमाडौँमा जनादेश पत्रिका र एबिसी टेलिभिजनले आचारसंहिताविपरीतका समाचार सम्प्रेषण गरेको, चितवन क्षेत्र नं २ को पिठुवा गाविस– ६ र ९ मा अस्थायी वाइसिएल शिविर खडा गरिएको बारेमा पनि एमालेले उजुरी गरेको छ ।

जवाफमा प्रमुख आयुक्त उप्रेतीले यसबारे गम्भीरतापूर्वक अध्ययन गरिने विश्वास दिलाएको सचिव ज्ञवालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>