समाचारआइतबार, मंसिर २, २०७०
लमजुङका एक उम्मेदवारको उम्मेदवारी खारेज
संघीय गणतान्त्रिक समाजवादी पार्टीका तर्फबाट लमजुङ–२ का उम्मेदवार गमबहादुर तामाङको उम्मेदवारी खारेज भएको छ । जिल्ला हुलाक कार्यालय मनाङमा स्थायी कर्मचारीका रुपमा बहाल रहेकाले तामाङको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले २ मंसीर साँझ उम्मेदवारी खारेज भएको पत्र निर्वाचन अधिकृतको कार्यालय लमजुङमा फ्याक्समार्फत पठाएको निर्वाचन आचारसंहिता अधिकृत अविकेश्वर पोखरेलले जानकारी दिए । पत्रमा निर्वाचन आचारसंहितको दफा १९ को ख बमोजिम बाहलवाला कर्मचारी उम्मेदवार बन्न नसक्ने र सो अनुरुप तामाडको योग्यता नपुगेको हुनाले उम्मेदवारी खारेज भएको जनाइएको छ ।
तामाङ जिल्ला हुलाक कार्यालय मनाङमा विगत १८ बर्ष देखि हल्काराको रुपमा कार्यरत छन् । निर्वाचन आचार संहितामा नेपाल सरकारको तलब भत्ता वा कुनैपनि सुविधा लिने कर्मचारीले निर्वाचनमा राजनितिक प्रचार समेत गर्न नपाईने नियम छ । तामाङले लामो समयदेखि आफ्नो काम खेताला कर्मचारी राखेर गर्दै आएको खुलासा भएको छ । उत्तरी लमजुङको ताघ्रिङ, १ का तामाङ लामो समयदेखि लमजुङमा सहकारी सञ्चालक तथा व्यवसाय गरेर बस्दै आएका छन् । उम्मेदवारी दिएपछि तामाङ महिनादिनसम्म चुनावी प्रचारमा जुटेका थिए ।
एक साताअघि निर्वाचन आयोग र निर्वाचन कार्यालयमा उनी विरुद्ध जिल्ला हुलाक कार्यालय मनाङ र अन्य निकायबाट उजुरी परेपछि आयोगले छानविन गरेको थियो । उजुरीपछिको स्पष्टीकरणमा उनले गत असोज ११ गते राजिनामा दिएको दावी गरेपनि अहिलेसम्म राजिनामा नपरेको आयोगले जनाएको छ ।
यसका साथै उनले असोज महिनाको तलब र दशै भत्ता समेत बुझेका छन् । तर तामाङ भने आफूले तलब नबुझेको र उल्टै आफू विरुद्ध षड्यन्त्र भएको बताए ।
युवराज श्रेष्ठ, लमजुङ
