थप समाचारसोमबार, मंसिर ३, २०७०
‘खाना खान आउँछु भन्थ्यो, कहिल्यै नआउने गरी गयो’

पेट्रोल बम प्रहारबाट जलेर निधन भएका राजकुमार देउजाकी अामा आफ्ना नाति र नातिनीसँगै । तस्वीर: श्याम गुप्ता
२८ कात्तिक २०७० को बिहान । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले ४ मंसीरको संविधानसभा निर्वाचन बिथोल्न बन्द आह्वान गरेकाले राजकुमार देउजा क्षेत्री बाराको निजगढ–७ स्थित घरमै थिए । फुर्सद भएकाले बारीमा प्याज रोप्दै थिए । विहानको खाना पनि खाएका थिएनन् । त्यही बेला ट्रक मालिक हरि प्रसाई आएर बन्दको खासै प्रभाव छैन, धान पुर्याउन जितपुर जाउँ भने ।
राजकुमार उनको ट्रक चलाउँथे । त्यसपछि उनी खाना समेत नखाई हिडे । “खाना खान आउँछु भन्दै गएको थियो, कहिल्यै नआउने गरी गयो” उनकी आमा चिनीमाया भन्छिन् ।
मोर्चाले बन्दको आह्वान गरेको चौथो दिन २८ कात्तिक दिउँसो पूर्व–पश्चिम राजमार्गको निजगढ–पथलैया सडक खण्डको दुधौरा पुल नजकिै गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार हुँदा घाइते भएका ३७ वर्षीय राजकुमार २ मंसीर बिहान उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा निधन भएपछि परिवार शोकमा डुबेको छ । उनकी आमा र छोराछोरीलाई सान्त्वना दिन आएका छरछिमेकी पनि पूरै शोकमा छन् ।
७ कक्षासम्म मात्र पढेका पढेका देउजाले सानै छँदा ट्रकमा खलाँसीको काम शुरु गरेका थिए । “गाडी चलाउन शुरु गर्दा २० वर्ष जतिको हुँदो हो” आमा चिनिमायाले भक्कानिंदै भनिन्, “वित्थामा मारे मेरो छोरालाई, आखिर के दोष थियो र गरीबको ?”
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराईरहेका छोरासँग अन्तिम पटक १ मंसीरमा उनले फोनमा कुरा गरेकी थिइन् । छोरासँगको अन्तिम कुराकानी सम्झँदै उनी भन्छिन्, “निको भएर आउँछु भन्थ्यो, अर्को दिन त गैहालेछ ।” बन्दले गर्दा छोराको शव गाउँमा ल्याउन नपाएकाले आफन्तले काठमाडौंमै अन्तिम संस्कार गरेको उनले बताइन् । घाइते लोग्नेसँगै काठमाडौं गएकी देउजाकी श्रीमती निर्मला अझै फर्कन पाएकी छैनन् । “बन्द छ भन्छन, बाबा जस्तै आमालाई पनि जलाउलान् भनेर हामीले नआउन भन्यौं” १२ वर्षीया छोरी निशाले भनिन् ।
बन्द भएकोले करेसामा प्याज रोप्दै गरेका देउजालाई ट्रक मालिकले बन्दको प्रभाव नपरेको भन्दै बोलाएर काममा लगेका थिए । उनले नेपाल बन्दले केही नहुने, केही भैहाले पनि सरकारले बेहोर्छ भन्दै काममा बोलाएर लिएका थिए । निशा भन्छिन्, “पछि रेडियोबाट मात्रै बाबा घाइते भएको थाहा पायौं । ”
मालिकले बोलाएपछि जीतपुरमा धान लिन गएका देउजाले जाने बेला धान ओसारेर आफू खाना खान आउने बताएका थिए, तर उनी कहिल्यै नआउने गरी गए ।
बम प्रहारबाट ट्रक मालिक प्रसाई र सहचालक लबेश्वर चौधरी पनि घाइते भएका थिए । आक्रमणमा सामान्य घाइते भएका सहचालक चौधरी सिमरास्थित अस्पतालमा उपचारपछि घर फर्केका छन् भने ट्रकधनी प्रसाईको काठमाण्डौंमा उपचार भैरहेको छ ।
श्याम गुप्ता, बारा
