समाचारमंगलबार, मंसिर ४, २०७०

इतिहासमै सर्वाधिक सफल निर्वाचन: उप्रेती

हिमालखबर

निर्वाचन आयोगले ४ मंसीरमा सम्पन्न संविधान सभा सदस्यको निर्वाचनमा ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । यो अहिलेसम्मकै सर्वाधिक भएको आयोगको भनाई छ ।

४ मंसीर साँझ निर्वाचन आयोगले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले छिटपुट घटना बाहेक निर्वाचन ‘स्वच्छ, निष्पक्ष’ भएको बताए । यसपटकको निर्वाचनमा फोटोसहितको मतदाता परिचयपत्र लागु गरिनु, प्रविधिको उपयोग र निर्वाचन प्रचार प्रसार जस्ता कार्यले बढी मतदान भएको उनको दाबी छ ।

थवाङमा शून्य मतदान, जुम्लामा स्थगित

प्रमुख आयुक्त उप्रेतीले रोल्पाको थबाङ गाविसमा कसैले पनि मतदान नगरेको जानकारी दिए । त्यहाँ फेरि निर्वाचन गराउने नगराउने बारेमा त्यहाँ खटिएका निर्वाचन अधिकृतको प्रतिवेदन र सल्लाहका आधारमा कानून बमोजिम निर्णय गरिने पनि उनले जानकारी दिए ।

जुम्लाको देवालस्थित त्रिभुवन मावि मतदान केन्द्रमा मतपत्र सहितको मतपेटिका नेकपा–माओवादीले कब्जा गरी स्थानीय तिला नदीमा बगाएपछि त्यहाँ पुनः मतदान हुने भएको छ ।

“त्यहाँ सक्दो चाँडो निर्वाचन गराउने प्रयासमा छौ,” उप्रेतीले भने ।

मतगणना ५ मंसीर बिहानदेखि

काठमाडौंलगायतका अधिकांश जिल्लाहरुमा मतगणना ५ मंसीर बिहानदेखि शुरु हुने भएको छ । तर केही सुगम जिल्लाहरुमा भने स्थानीय मतदान अधिकृत, प्रशासन र सुरक्षाकर्मीको निर्णय अनुसार आजै रातिबाट मतगणना हुन सक्ने बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>