समाचारबुधबार, मंसिर ५, २०७०
विभिन्न जिल्लामा मतगणना शुरु, केहीमा भोलीमात्रै
पर्वतमा मतपेटिका आइपुगे, मतगणना दिउँसोदेखि
पर्वत जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुगेका छन् । पर्वतको सुदूर दक्षिणमा पर्ने हुवास, सेतीबेणीलगायतका क्षेत्रबाटसमेत सबै मतपेटिका सदरमुकाम आइपुगेका छन् ।
मतगणना र सुरक्षाको विषयमा छलफल गर्न बसेको सुरक्षा समितिको बैठक सकिएको छ । अब सर्वदलीय बैठक सकेर दिउँसो २ बजेपछि मतगणना सुरु हुने भएको छ ।
डोल्पामा हेलिकोप्टरमार्फत मतपेटिका ओसार्ने काम शुरु
डोल्पाका तिब्बती सिमानासँग जोडिएका उपल्लो भेगका ६ गाविसमा रहेका मतपेटिका हेलिकोप्टरमार्फत ओसार्ने काम निर्वाचन कार्यालय डोल्पाले सुरु गरेको छ ।
उपल्लो डोल्पाका भिजेर, सालदाँग, धो, तिन्जे, छार्का, र मुकोट गाविसमा मतदान केन्द्रहरु रहेका छन् ।
डोल्पामा १२ हजार ६०४ मत खसेको छ अर्थात जुन कूल मतदाताको ८५ प्रतिशत भएको प्रारम्भिक जानकारी निर्वाचन कार्यालयले दिएको छ । माथिल्लो डोल्पाका ६ गाविसमध्ये चार गाविसको विवरण आएमा डोल्पामा ९० प्रतिशतभन्दामाथि मत खसेको हुनेछ । सम्भवतः नेपालमै यो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत खस्ने जिल्लामा डोल्पा हुनेछ ।
सङ्खुवासभाका विकट क्षेत्रको मतपेटिका हेलिकोप्टरबाट ल्याइयो
सङ्खुवासभाको निर्वाचन क्षेत्र नं १ का विकट क्षेत्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम खाँदबारी ल्याइएको छ ।
भौगोलिक विकटताका कारण निर्वाचन क्षेत्र नं १ का किमाथाङ्का, हटियागोला, पाथीभरा, पावाखोला, मकालुलगायतका मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकोप्टरबाट ल्याइएको हो ।
सबै मतदान केन्द्रका मतपेटिका मतगणना स्थलमा आइपुगिसकेका कारण छिट्टै मतगणना सुरु हुने निर्वाचन कार्यलयले जानकारी दिएको छ ।
गोरखामा मतगणना शुरु
गोरखामा मतगणना सुरु भएको छ । ५ मंसीर बिहान बसेको सर्वपक्षीय बैठकको निर्णयले मध्यान्ह १२ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले बताए ।
गोरखा क्षेत्र नं ३ को मतपेटिका भने गोरखा सदरमुकाम आइसकेको छैन । मतपेटिका हेलिकोप्टरबाट ल्याउने तयारी भइरहेको छ ।
सोलुखुम्बुमा साँझबाट मतगणना हुने
सोलुखुम्बुमा ५ मंसीर साँझसम्ममा मतपेटिका सदरमुकाम ल्याइसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सदरमुकामबाट टाढा र भौगोलिक विकटतामा रहेका गोली, चौलाखर्क, भकाञ्जे, सोताङ, पावै, बुङ, छेस्काम, गुदेल, नाम्चे, चौरीखर्क, खुम्जुङलगायतका गाविसमा मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन लागिएको हो । अन्य गाविसको मतपेटिका भने भरियामार्फत साँझसम्म सदरमुकाम ल्याइने जिल्ला निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको छ ।
धनगढीमा मतगणना शुरु
कैलालीको धनगढीमा मतगणनाको काम बिहान ११ बजेदेखि शुरु भएको छ ।
निर्वाचन क्षेत्र नं ४ र ५ का केही मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाम धनगढीमा पुग्न बाँकी ल्याउन बाँकी रहेको र दिउँसो सम्म ल्याइपुग्ने मुख्य निर्वाचन अधिकृत यज्ञराज भट्टले बताउनुभयो ।
कालीकोटमा ६ मंसीरदेखि मतगणना हुने
दुर्गमका कारण कालीकोट जिल्लाका ग्रामीण इलाकाबाट मतपेटिका जिल्ला सदरमुकाम नआएका कारण मतगणनाको काम दुई दिन ढिला हुने भएको छ ।
अहिलेसम्म सदरमुकाम आसपासका मान्म, दाँहा, भर्ता, बदालकोट रकुलगायतका पाँच गाविसबाट मतपेटिका आइपुगेका छन् ।
जिल्ला निर्वाचन कार्यलयका अनुसार दुर्गम गाउँका मतपेटिका हेलिकोप्टरको सहायताबाट ल्याउने भएका कारण ढिला हुने भएको हो । जिल्ला निर्वाचन कार्यालय कालीकोटका प्रमुख विकासचन्द्र शर्माका अनुसार हेलिकोप्टरले मतपेटिका ल्याएपछि मतगणना हुने बताउँदै हेलिकोप्टर भोलि कालीकोटमा आउने भएकाले भोलि बेलुकासम्ममात्र मतपेटिका सदरमुकाम आउने र बिहीबारदेखि मतगणना सुरु हुनेछ ।
झापामा मतगणना शुरु
झापाको ७ वटै निर्वाचन क्षेत्रमा मतगणन शुरु भएको छ ।
जिल्लाका सातवटै निर्वाचन क्षेत्रका मतपेटिका ४ मंसीर रातिसम्ममा सदरमुकाम भद्रपुर आइपुगेपछि बिहान सर्वदलीय बैठक बसी मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।
काठमाडौं र ललितपुरमा मतगणना शुरु
काठमाडौंमा बिहान ८ बजेदेखि मतगणना शुरु गर्ने भनिए पनि बदर मतका बारेमा मापदण्ड बनाउन सर्वदलीय बैठक बसेकाले केही समय ढिलो शुरु भएको मुख्य निर्वाचन अधिकृत अच्युत विष्टले बताए ।
उनले अन्य ८ वटा क्षेत्रको मतगणना कार्य पनि शुरु हुने क्रममा रहेको जानकारी दिए । अन्य क्षेत्रको मतगणनाका लागि राजनीतिक दलका प्रतिनिधिहरुको परिचयपत्र बनाउने कार्य भइरहेकाले केही समयपछि सबै १० वटै क्षेत्रको मतगणना शुरु हुने बताइएको छ ।
मतगणना स्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बाहिर नेता कार्यकर्ताको भीड लागेको छ । सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखि केन्द्रको पश्चिमी द्वारतर्फको सडक बन्द गरिएको छ ।
यसैबीच ललितपुर क्षेत्र नं. २ र ३ मा पनि मतगणना सुरु भएको छ । क्षेत्र नं. १ को मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।
क्षेत्र नं. २ मा ६७ हजार १९३ मतदाता रहेका छन् भने क्षेत्र नं. ३ मा ७७ हजार ८९२ मतदाता रहेका छन् । दुबै क्षेत्रमा ८० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा तीनवटै निर्वाचन क्षेत्रमा १२६ वटा मतदान केन्द्रहरु रहेका थिए । रासस
म्याग्दीको दाग्नाममा शतप्रतिशत मत खस्यो
४ मंसीरमा सम्पन्न संविधानसभाको निर्वाचनमा म्याग्दीकोे दग्नामको जनता मावि मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ ।
दग्नाम गाविसको वडा नं– १ देखि ६ सम्मका ४०८ मतदातामध्ये ४०८ ले नै मतदान गरेको मतदान अधिकृत प्रेमलाल मल्लले जानाकारी दिएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार खमबीर गर्बुजाको गाउँको जनता मावि मतदान केन्द्र संविधानसभाको दोस्रो निर्वाचनमा शतप्रतिशत मतदान हुने एकमात्र केन्द्र बनेको छ ।
नेकपा–एमाले म्याग्दीले भने जनता मावि मतदान केन्द्रमा धाँधली भएको आरोप लगाएको छ ।
हालै मृत्यु भएकी दग्नाम–५ की मतदाता क्रमसङ्ख्या नं ५४ की रुबिसरा गर्बुजा र विदेश रहेका आप्mना कार्यकर्ता दग्नाम–४ का मतदाता क्रमसङ्ख्या नं ४ का कृष्णबहादुर पुनको मतसमेत परेको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।
म्याग्दीका गुर्जा, मुना, मुदी, लुलाङ, कुइनेमङ्गले लगायत दुर्गम गाविसका मतदान केन्द्रको मतपेटिका ५ मंसीर साँझसम्म आइपुग्ने र त्यसपछि मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए ।
एक निर्वाचन क्षेत्र रहेको म्याग्दीका ४१ गाविसमा रहेका ४ वटा अस्थायीसहित १०१ मतदान केन्द्र रहेका छन् ।
