समाचारसोमबार, साउन १, २०६९
छुट्टा-छुट्टै दुर्घटनामा ९ को मृत्यु
उदयपुरको कटारीबाट काठमाडौँतर्फ आउँदै गरेको ना २ ख ४९५१ नम्बरको यात्रुवाहक बस १ साउन विहान सडकबाट त्रिशूलीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । घटना भएलगत्तै स्थानीय आकस्मिक उद्धारकर्ताले एक महिला, एक बच्चा र चार पुरुषको लास निकालेका छन् । २० घाइतेको उद्धार गरी मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचारका लागि पठाएको स्थानीय राममणि थपलियाले जानकारी दिए ।
खचाखच ५७ यात्रु बोकेर अत्यधिक गतिमा गुडेको गाडी सिमसिम पानी परिरहेका बेला ‘ब्रेक फेल’ भएर सडकबाट त्रिशूलीमा खसेको थियो । स्थानीय उद्धारकर्ता सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीद्वारा उद्धार भइरहेको छ । मृतकमध्यॆ उदयपुरका सुब्बा कार्की र धादिङका दीपकप्रसाद खनालको सनाखत भएको छ ।
बेपत्ताको खोजी भइरहेको भए पनि नदीमा पानीको मात्रा बढी भएकाले कठिनाइ भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद घिमिरेले बताए । रासस
बस र ट्रिपर ठोक्किदा ३ को मृत्यु, ३८ घाईते
यसैवीच नवलपरासी १ साउन पुर्बपश्चिम लोकमार्ग अन्तरगत नवलपरासीको सुनवलमा आज बिहान यात्रुबाहक बस र टि्रपर एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दैलेखबाट काठमाण्डौं जादै गरेको ना ३ ख ५०९० नम्बरको यात्रुबहाक बस र बिपरीत दिशातर्फ जादै गरेको ना ४ ख ११४१ नम्बरको टि्रपर ठोक्किदा ट्रिपरका चालक धादिङ नौबिसेका ४० बर्षिय पुरनप्रसाद पाठक र कालिकोटका आनन्द अधिकारीको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएकाको भने सनाखत हुन सकेको छैन । घाईते ३८ जनाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
नवलपरासीको गण्डक नहरमा ३१ असारमा तीर्थालु बोकेको बस खस्दा ज्यान गुमाएका भारतीयहरुलाई शसस्त्र प्रहरी सिमा सुरक्षा बल परासीले महाराजगञ्ज प्रहरीलाई शव बुझाएको प्रमुख जिल्ल्ला अधिकारी वीरबहादुर र्राईले जानकारी दिए । दुर्घटनामा तीन नेपाली सहित ३९ जनाले ज्यान गुमाएका थिए ।
विद्रोही गिरी, नवलपरासी
