थप समाचारआइतबार, मंसिर ९, २०७०
निर्वाचितहरु अधिकांश ५०–६० उमेर समूहका
संविधान सदस्यमा प्रत्यक्षबाट निर्वाचित सभासदहरुमध्ये अधिकांश ५० देखि ६० वर्ष उमेर समूहका छन् । यो समूहका सभासदको संख्या ११४ पुगेको छ । कुल सदस्यसंख्या २४० को यो ४०.७ प्रतिशत हो ।
त्यसैगरी ४०–४९ वर्ष उमेर समूहमा ७२ जना छन् भने ३०–३९ वर्ष उमेर समूहमा १५ जना र ७१–७४ वर्ष उमेर समूहमा जम्मा ३ जनामात्रै छन् ।
त्यस्तै सबैभन्दा कान्छा कपिलबस्तु–५ बाट बिजयी अभिषेकप्रताप साह ३१ वर्षका र त्यसपछि कैलाली–४ बाट बिजयी एमाओवादी सभासद् गौरीशंकर चौधरी ३२ बर्षका छन् ।
नेपाली कांग्रेसका सभापति एवम् चितवन–४ र बाँके–३ बाट बिजयी सभासद् ७४ वर्षीय सुशील कोइराला सबैभन्दा जेठा छन् । कोइरालापछिका जेठा प्रत्यक्षतर्फबाट निर्वाचित सभासदद्वय भक्तपुर–१ बाट निर्वाचित नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र नेपाली कांग्रेसका तर्फबाट बारा–२ बाट निर्वाचित राधेचन्द्र यादव छन् । उनीहरु दुवै ७३ वर्षका भए ।
सबैभन्दा जेठा र कान्छा सभासदबीच उमेरको फरक ४३ वर्षको हुने छ ।
तर, समानुपातिक तर्फका संविधानसभा सदस्यहरुको घोषणा भइसकेपछि मात्रै संविधानसभामा कुन उमेर समूहको अधिक प्रतिनिधित्व हुनेछ साथै को सबैभन्दा कान्छा र को सबैभन्दा जेठा हुनेछन् भन्ने टुंगो लाग्नेछ ।
विगतको अनुभवलाई हेर्दा प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट प्रतिनिधित्व गर्नेहरुबीच उमेरको खासै फरक नहुने हुँदा यसपटकको संविधान सभामा ५० देखि ६० वर्ष उमेर समूहकै बर्चस्व रहने अनुमान गर्न सकिन्छ ।
प्रत्यक्षतर्फ सप्तरी–२ को परिणाम नआइसकेको हुँदा उक्त क्षेत्रलाई समावेश गरिएको छैन ।
निर्वाचन आयोगको वेबसाइटले बिजयी उम्मेदवारहरुको सूचीमा सप्तरी–४ बाट विजयी ताराकान्त चौधरीको उमेर २९ वर्ष उल्लेख गरे पनि उनी ३९ वर्षका भएको सप्तरीका पत्रकार श्रवणकुमार यादवले जानकारी दिएका छन् ।

