थप समाचारआइतबार, मंसिर ९, २०७०
कामसँगै दाम पनि आकर्षक
– डम्बरकृष्ण श्रेष्ठ, मकाउमा
क्यासिनो र सुविधासम्पन्न होटलका लागि अमेरिकाको लासभेगास जस्तै चर्चित मकाउमा अहिले ३५०० नेपाली विभिन्न क्षेत्रमा काम गर्छन्। मकाउका क्यासिनो, होटल, पसल/डिपार्टमेन्टल स्टोर र धनाढ्यहरूको मात्र नभएर सरकारी भवन र कारागारको सुरक्षा गर्ने जिम्मेवारी पनि नेपालीले पाएका छन्। मकाउको सुरक्षागार्डमा चिनियाँ, फिलिपिनी, बर्मेली, भियतनामीहरू भए पनि गोर्खालीको पहिचानका कारण नेपालीको माग डेढ दशक यता ह्वात्तै बढेको देखिन्छ।
सुरक्षा बाहेक नेपालीहरूले कूक, वेटर, लन्ड्री, क्लिनिङ, हाउसकिपिङ, डोमेस्टिक हेल्पर लगायतका काम पनि पछिल्लो समय पाउन थालेका छन्। ती बाहेक हङकङ आईडी भएका केही नेपाली मकाउको निर्माण क्षेत्र र व्यापार व्यवसायमा पनि सक्रिय छन्। २९.५ वर्गकिमी क्षेत्रफल र ६ लाख जनसंख्या रहेको चीनको स्वशासित मकाउ सन् १९९६ देखि वैदेशिक कामदारका लागि खुल्ला भएको हो। त्यहाँ अहिले नेपाली कामदारले मासिक रु.७० हजारदेखि रु.७ लाखसम्म कमाइरहेका छन्।
सुविधा र कमाइ राम्रो
हङकङका धनाढ्य स्टान ली हुको ‘एसजेएम कम्पनी’ को क्यासिनोले सुरक्षाका लागि सन् १९९६ मा पहिलोपटक नेपालीहरूलाई बोलाएपछि सन् १९६० देखि क्यासिनो खुलेको मकाउमा नेपाली कामदारको प्रवेश शुरू भएको हो। ६ वटा ठूला कम्पनीका तीन दर्जन क्यासिनो सञ्चालनमा रहेको मकाउमा सन् २००० पछि विश्वका ठूला कम्पनीहरूले पनि विलासी होटल र क्यासिनोहरूमा लगानी गर्न थालेका छन्।
नरेन्द्र गुरुङ र पुष्पा गुरुङको माउन्टेन ओभरसिजले नेपाली कामदारलाई मकाउ पुर्या्उन सुरुआत गरेकोमा त्रिलोक गुरुङको एकता इन्टरनेशनलले मात्रै अहिलेसम्म १७०० नेपालीलाई त्यहाँ पुर्या इसकेको छ। मकाउमा अहिलेसम्म ९० प्रतिशत नेपालीले सुरक्षा गार्डको काम पाए पनि अरू क्षेत्रमा पनि नेपालीको माग बढ्न थालेको एकता इन्टरनेशनलका त्रिलोक गुरुङ बताउँछन्।
मध्यपूर्वका होटलहरूमा नेपालीले राम्रो काम गरिरहेको उदाहरण दिएपछि मकाउका होटलहरूले पनि नेपालीलाई राख्न थालेको उनको भनाइ छ। उनका अनुसार, ग्रान्ड लिस्वाओ नामको मकाउको तारे होटलमै ९० जना नेपालीले हाउसकिपिङको काम पाएका छन्।
१५ वर्षदेखि मकाउमा रहेका डिल्ली तुम्रोक काममा मिहिनेत र लगनशीलताले मकाउमा नेपाली कामदारको माग बढेको बताउँछन्। काम, कमाइ र सुविधा राम्रो रहेको मकाउमा कामदारलाई पनि नागरिक बराबरको व्यवहार गरिने उनको भनाइ छ।
हतियार बोकेर कारागारको सुरक्षामा नेपालीहरूलाई तैनाथ हुन मकाउ सरकारले दिनुमा नेपालीहरूको इमान्दारी प्रमुख कारण रहेको त्यहाँ कार्यरत नेपाली बताउँछन्। अहिले सरकारी कर्मचारी बराबर तलब पाउने गरी ४६ जना नेपाली ‘जेल गार्ड’ छन् भने यही महीनामा थप ६० जना नेपालीले यही काम पाउँदैछन्।
करीब एक हजार कैदी रहेको मकाउको कारागारका लागि नेपाली, भियतनामी र चिनियाँ गरी २०० सुरक्षागार्ड तैनाथ छन्। ‘जेल गार्ड’ रहेका नेपाल आर्मीका पूर्व तेक्वान्दो प्रशिक्षक विश्वराज सिग्देलका अनुसार, उनले गरेको काममा मासिक रु.२ लाख ६० हजार तलब, ६० वर्ष उमेरसम्म काम गर्न पाउने, आवास सुविधा र परिवारका हरेक सदस्यले मासिक रु.५ हजार भत्ता पाउँछन्।
जेल गार्डको कामबाटै उनले काठमाडौंमा घर बनाएर ब्याङ्कमा केही रुपैयाँ जम्मा गरेका छन्। मकाउको सरकारी कार्यालय प्रोपर्टी डिपार्टमेन्टको सुरक्षागार्ड रहेका हेटौंडा–७ का नेपाली सेनाका पूर्व हवल्दार विनय लामा आफ्नो कार्यालयमा मात्रै अहिले २० नेपाली सुरक्षागार्ड रहेको बताउँछन्। मकाउको कमाइले पोखरामा घरजग्गा जोडेका उनको भनाइमा मकाउमा काम र दाम दुवै राम्रो छ।
तीन वर्ष कुवेत र ६ महीना इराकमा काम गरेर डेढ वर्षदेखि मकाउको भेनेटियन होटलको क्यासिनोमा सुरक्षागार्ड रहेका ललितपुर, नख्खीपोटका रुपेन्द्र सुब्बा (३९) र ओखलढुङ्गाका धनेन्द्र लामा (३७) कुवेत र इराकमा मासिक रु.३० हजार कमाएकोमा मकाउमा मासिक रु.१ लाख कमाउने गरेको बताउँछन्। रुपेन्द्रका अनुसार, खाना, यातायात निःशुल्क पाउने उनीहरूले मासिक ६ दिन विदा पाउँछन्।
भारत, बहराइन, कुवेत, कोरिया, हङकङमा काम गरेर अहिले मकाउको ल्याण्डमार्क होटल तथा क्यासिनोका सेक्युरिटी सुपरभाइजर बन्न पुगेका मोरङ, बेलबारीका अम्बिका नोयोङ लिम्बू (४५) को मासिक तलब रु.३ लाख छ। ९ वर्ष मकाउमा काम गरेर काठमाडौंको दुई ठाउँमा घर बनाएको उनको भनाइ छ। एकता इन्टरनेशनल मार्फत ९ महीनाअघि क्लिनरको भीसामा मकाउ आएका कास्की, देउरालीका हिम गुरुङ (२७) पनि डिपार्टमेन्ट भवनको शौचालय सफाइको कामबाट मासिक रु.१ लाख कमाउने गरेको बताउँछन्।
खेलाडी बढी
मकाउको सुरक्षागार्डमा नेपालको खेलक्षेत्रमा ख्याति कमाएका खेलाडीहरू धेरै भेटिए। सन् १९८४ को ओलम्पिकमा नेपालबाट बक्सिङमा प्रतिनिधित्व गरेका मानबहादुर श्रेष्ठका अनुसार, मकाउमा कार्यरत करीब ३ हजार नेपालीमध्ये ३०० जना नेपालको खेलकुद क्षेत्रमा पहिचान बनाएका छन्। २०४२ मा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा बक्सिङमा स्वर्ण जितेर साफमा दुई पटक रजत र कास्य जितेका उनी मकाउको जक्की क्लबको सुरक्षागार्डका कमाण्डर छन्।
२०६४ मा बक्सिङको बेष्ट प्लेयर अफ द इयर र बंगलादेश साफमा रजत पदक जितेका हेटौंडा हात्तीलेटका अजित गुरुङ (२९) विन क्यासिनोमा सेक्युरिटी गार्ड छन् भने कराँतेको राष्ट्रिय खेलमा ६ वटा र साफ गेममा एउटा गोल्ड मेडल जितेका मोरङका कृष्ण गुरुङ मकाउका धनाढ्य स्टान लि हु का निजी सुरक्षा गार्ड छन् (हे. अन्तिम पेज)। त्यस्तै कराँतेकी गोल्ड मेडलिस्ट पोखराकी शान्ति अधिकारी कराँते प्रशिक्षक श्रीमान राम कार्कीसँगै मकाउमै छन् (हे. बक्स)। भरतपुरका बोध खड्का ६ असोजमा भएको मकाउ ओपन बडी विल्डिङ च्याम्पियनसीप २०१३ मा विभिन्न मुलुकका २५ खेलाडीलाई जित्दै ८० किलो तौल समूहको विजेता बने। नेपालमा उनले त्रिभुवन आर्मी क्लबबाट फूटबल खेलेका थिए।
समस्या पनि
नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बन्न सक्ने मकाउ पठाउन सरकारी तवरबाट ध्यान पुग्न नसकेको फिलिपिन्स, इन्डोनेशियाले जस्तो त्यहाँ नेपाल सरकारको कुनै कार्यालय नरहनुले देखाउँछ। त्यहाँ कार्यरत नेपालीका लागि हङकङस्थित नेपाली वाणिज्य दूतावासले महीनामा एकपटक राहदानी नवीकरण गर्न कर्मचारी पठाउने गरेको छ।
ठूला होटल र क्यासिनो थपिंदै गएको मकाउमा सुरक्षा क्षेत्रमा मात्रै नभएर होटल–रेस्टुरेन्टमा हाउसकिपिङ, सेफदेखि निर्माण क्षेत्रमा पनि नेपाली कामदारले रोजगारी पाउने सम्भावना छ। सरकारले चाहने हो भने घरेलु कामदारमा पनि नेपाली महिलाले त्यहाँ रोजगारी पाउन सक्छन्। मकाउमा कार्यरत नेपालीहरूका अनुसार, काम गर्ने राम्रो वातावरण भएको र घरेलु कामदारले मासिक रु.४० हजार पाउने हुनाले मकाउ नेपाली महिलाका लागि राम्रो गन्तव्य बन्न सक्छ।
सरकारले ध्यान नपुर्यााउने हो भने हङकङमा जस्तै नेपालीले त्यहाँ पनि रोजगारी गुमाउन सक्ने खतरा रहेको मकाउमा कार्यरत नेपाली बताउँछन्। हङकङमा सन् २००८ को आर्थिक मन्दीमा ६०० भन्दा बढी नेपालीले रोजगारी गुमाउनु परेको थियो भने मकाउ सरकारले सन् २०१० मा ल्याएको नयाँ नीतिले नेपालीहरूका लागि रोजगारीको ढोका बन्द गर्ने अवस्था सिर्जना गर्न लागेको थियो। त्यसवेला हङकङ र मकाउमा गैरकानूनी बाटोबाट विदेशी कामदार आउन थालेपछि दुवै ठाउँको प्रशासनले प्रवेशाज्ञा नीति कडा बनाएको तत्कालीन गैर–आवासीय नेपाली महासंघ (एनआरएन) का पूर्व प्यासिफिक संयोजक त्रिलोक गुरुङ बताउँछन्।
मकाउ हेर्ने जिम्मेवारी पाएको हङकङमा रहेको नेपाली महावाणिज्य दूतावासका वाणिज्य दूत महेश दाहाल मकाउमा कार्यालय राख्न खर्चिलो भएकाले पासपोर्ट र भीसा सम्बन्धी कामका लागि महीनाको एक पटक सम्पर्क कार्यालय खोल्ने गरेको बताउँछन्। मकाउ–नेपाल सीधा हवाई सेवा नहुनु र नेपालबाट मकाउ जाँदा र फर्कंदा हङकङको भीसा चाहिनुबारे दाहालले भने “मकाउबाट फेरि चढेर हङकङ एयरपोर्टमा सीधै पुग्ने व्यवस्था मिलाउन पहल भइरहेको छ।
काम र खेल सँगै
९ वर्षदेखि मकाउमा बसिरहेकी कराँतेमा तीन पटक स्वर्ण पदक जितेकी शान्ति अधिकारी (३८) त्यहाँ पनि खेलमा सक्रिय छिन्। कराँतेकै प्रशिक्षक पति राम कार्की (४६) सँगै रहेकी उनले सन् २०१३ मा भएको मकाउ मिनी म्याराथुन जितेकी छिन्। मकाउमा हुने अन्तर्राष्ट्रिय म्याराथुनमा लगातार ८ पटक सहभागी भएकी उनी तीन पटक च्याम्पियन र पाँच पटक दोस्रो भइन्।
मकाउबाट वर्ल्ड कराँते च्याम्पियनसीपमा भाग लिन रु.६ लाख खर्च गरेर पतिसँग २०१२ मा फ्रान्स पुगेकी उनी भन्छिन्, “स्लोभाकियाका खेलाडीसँग हारेकाले उपाधि नपाए पनि त्यहाँ नेपालको झण्डा बोक्न पाउँदा गर्व लागेको छ।” अक्टोबर २०१४ मा जर्मनीमा हुने कराँते विश्व प्रतिस्पर्धामा भाग लिने तयारीमा छिन् उनी।
शान्तिका पति राम कार्की पनि श्रीमतीसँगै ग्यालेक्सी क्यासिनोका सेक्युरिटी गार्ड हुन्। क्यासिनोमा सुरक्षातर्फ सिफ्ट म्यानेजर शान्तिले मासिक रु.२ लाख ५० हजार कमाउँछिन्भने श्रीमान्ले मासिक डेढ लाख रुपैयाँ तलब थाप्छन्।
रामले मकाउमा रहेका करीब ५० नेपाली खेलाडीलाई संगठित गरेर समूह बनाएका छन्। त्यही कारण मकाउमा भएको अन्तर्राष्ट्रिय कराँते खेलमा नेपाली समूह उत्कृष्ट भएको थियो भने विक्रम मेचेले ‘बेष्ट फाइटर’ को उपाधि पाएका थिए। मकाउमा इरानी गुरुसँग नेशनल डोजोको प्रशिक्षण लिइरहेका कार्कीको नेपाल फर्केर खेल क्षेत्रकै सेवा गर्ने चाहना छ।
गोल्डमेडलिष्ट ‘बडीगार्ड‘

मकाउका धनाढ्य स्टान ली हु र उनकी पत्नी एन्जिला लियोङका साथमा नेपाली 'बडीगार्ड' प्रेम राना मगर, राजेन्द्र गुरुङ, राजन डंगोल, मानबहादुर शाही र कृष्ण गुरुङ।
१० वर्षअघि रोजगारीका लागि मकाउ आएका सुन्दरपुर, मोरङका कृष्ण गुरुङ (३६) हङकङ र मकाउका अर्बपति डा. स्टान ली हुका पाँचमध्येका एक जना निजी सुरक्षा गार्ड हुन्। नेपालमा कराँतेमा ६ पटक गोल्ड मेडल जितेका अन्तर्राष्ट्रिय खेलाडी कृष्ण मकाउको कमाइले परिवारको भविष्य सुनिश्चित भएको बताउँछन्। सन् १९९९ मा नेपालमा भएको आठौं दक्षिण एशियाली खेलमा गोल्ड मेडल जितेका कृष्ण मलेशिया र जापानका एशियन गेमहरूमा समेत सहभागी भएका थिए। खेलकै कारण गोरखा दक्षिण बाहु समेत पाएका उनी ९ वर्ष खेलकुद परिषद्मा प्रशिक्षक रहे।
मकाउ आएर तीन वर्ष सेक्युरिटी गार्डका रूपमा काम गरेका उनी कराँते सीपकै कारण डा. स्टान ली हुका बडीगार्ड हुन पुगे। मकाउका आधा दर्जन क्यासिनो चलाउने एसजेएन कम्पनीका मालिक स्टान ली हुको बडीगार्ड भए पनि कृष्णको कमाइले मासिक रु.२ लाख नाघेको छ। “नेपालमा खेलेर बाँच्ने अवस्था नभएपछि मकाउ आएको राम्रै भए जस्तो लागेको छ”, कृष्ण भन्छन्, “अहिले त गैर–आवासीय नेपाली संघमा पनि आवद्ध भएको छु।”








